अध्यक्ष प्रचण्डबाट आज बिहान म्याग्दीका विभिन्न स्थलहरुको अवलोकन भ्रमण

काठमाडौं । सोमबार म्याग्दी पुग्नुभएको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले आज बिहान म्याग्दीका विभिन्न स्थलहरुको अवलोकन भ्रमण गर्नुभएको छ । आज बिहान अध्यक्षले पर्वत जिल्लाको मल्लाद डाँडामा गएर म्याग्दीको सदरमुकाम बेनीको अवलोकन गर्नुभयो ।

त्यसैगरी उहाँले कालीगण्डकीले कटान गरेको बेनी बजारको तडबन्धको निरिक्षण पनि गर्नुभयो । त्यसैगरी ४० मेगावाट क्षमताको निर्माणाधीन रहुघाट जलविद्युत आयोजनाको निरिक्षण गर्नुभयो । अध्यक्षले आज बिहान कालीगण्डकी कोरीडोरेको अवलोकन गर्नुभयो भने म्याग्दीको सबैभन्दा ठूलो धार्मिक पर्यटकीय स्थल गलेश्वर धामको पनि अवलोकन गर्नुभएको थियो ।

अध्यक्ष प्रचण्ड आज बिहान ९ः३० बजे तातोपानी कुण्डमा स्नानका लागि जानुभयो । अध्यक्ष प्रचण्ड जीवन संगिनी सीता दाहालको उपचारको सिलसिलामा तातोपानी स्नानका लागि म्याग्दी पुग्नुभएको हो । प्राकृतिक चिकित्सालयको रुपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला, नशा, ग्याष्ट्रिक, बाथ लगायत रोगका बिरामीलाई फाइदा पुग्ने बताइन्छ ।

तीन दिन तातोपानीमा स्नान गरेपछि अध्यक्षसहितको टोली भोलि साँझ राजधानी फर्कनेछ । राजधानी फर्कनु अघि भोलि अध्यक्ष प्रचण्डले स्थानीय पार्टी कार्यकर्ता, उद्योग व्यवसायी र अन्त्यमा संचारकर्मीहरुसँग भेटघाट र छलफल गर्नुहुनेछ ।

कात्तिक ९, २०८१ शुक्रबार १८:१२:२९