अध्यक्ष प्रचण्डबाट १२७ औं मई दिवसको अवसरमा जारी शुभकामना वक्तव्य

मई दिवसको शुभकामना वक्तव्य
आठ घण्टाको कार्य दिवस सहित आफ्नो अधिकारका निमित्त अमेरिकाको शिकागो शहरका मजदुरहरुले गरेको संघर्षको दिन १ मईलाई विश्वभरका मजदुरहरुले मई दिवसका रुपमा मनाउँदै आएका छन् । यस वर्ष पनि सदा झैं संसारभरीका मजदुरहरु सँगै नेपालका मजदुर एवम् कम्युनिष्टहरुले पनि १२७ औं मई दिवस मनाई रहेका छन् । हाम्रो पार्टी यस ऐतिहासिक दिनमा नेपाल र विश्वका मजदुरहरुसँग जुझारु ऐक्यवद्धता सहित हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्दछ ।
नेपालमा कम्युनिष्ट क्रान्तिकारी एवम् मजदुरहरुले आफ्नो अधिकारका निमित्त संघर्ष र वलिदानका अनेकौं किर्तिमान कायम गरेका छन् । संघर्ष र वलिदानका किर्तिमानकै कारण आज नेपालमा ठूल्ठूला राजनैतिक परिवर्तनहरु भएका छन् । ती परिवर्तनसँग मजदुरहरुका कयौं हक अधिकार समेतलाई सम्बोधन गर्दै संविधान सभाबाट नयाँ संविधान बनेको छ । प्राप्त भएका यी उपलब्धिहरुको रक्षा गर्दै थप अधिकारका निमित्त संघर्ष गर्नु आज नेपालका मजदुर एवम् उत्पीडित जनताको कार्यभार बन्न गएको छ ।
“संसारका मजदुर एक होऔं” र “विद्रोह जनताको अधिकार हो” भन्ने महान् नारा अन्तर्गत समाजवादका निमित्त निरन्तर क्रान्तिको दिशामा अगाडि बढ्ने संकल्प सुदृढ गर्नु नै मई दिवस मनाउनुको मुख्य अर्थ हो । हाम्रो पार्टी यो महान् उद्धेश्यका निमित्त हमेशा मजदुर वर्गको राजनैतिक अग्रदस्ताको भूमिका खेलिरहने प्रतिवद्धता सहित पुनः नेपाल र संसारका मजदुरहरुलाई बधाई शुभकामना व्यक्त गर्दछ ।
१९ बैशाख, २०७३ ( १ मई)

………………………
प्रचण्ड
अध्यक्ष
एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)

127th-1st may-day_CMPrachanda_statement

कात्तिक ६, २०८१ बुधबार ५:२३:५