प्राप्त उपलब्धिको रक्षा गर्दै थप अधिकारका निमित्त संघर्ष मजदुरको कार्यभारः अध्यक्ष प्रचण्ड

काठमाडौं, १९ बैशाख । अध्यक्ष प्रचण्डले प्राप्त उपलब्धिहरुको रक्षा गर्दै थप अधिकारका निमित्त संघर्ष गर्नु आज नेपालका मजदुको कार्यभार भएको बताउनु भएको छ । १२७ औं मई दिवसका अवसरमा हाज बिहान शुभकामना वक्तव्य जारी दिनु हुँदै उहाँले भन्नुभएको छ,‘
संघर्ष र वलिदानका किर्तिमानकै कारण आज नेपालमा ठूल्ठूला राजनैतिक परिवर्तनहरु भएका छन् । ती परिवर्तनसँग मजदुरहरुका कयौं हक अधिकार समेतलाई सम्बोधन गर्दै संविधान सभाबाट नयाँ संविधान बनेको छ । प्राप्त भएका यी उपलब्धिहरुको रक्षा गर्दै थप अधिकारका निमित्त संघर्ष गर्नु आज नेपालका मजदुर एवम् उत्पीडित जनताको कार्यभार बन्न गएको छ ।’

अध्यक्ष प्रचण्डबाट १२७ औं मई दिवसको अवसरमा जारी शुभकामना वक्तव्यको पूर्ण पाठः–
मई दिवसको शुभकामना वक्तव्य
आठ घण्टाको कार्य दिवस सहित आफ्नो अधिकारका निमित्त अमेरिकाको शिकागो शहरका मजदुरहरुले गरेको संघर्षको दिन १ मईलाई विश्वभरका मजदुरहरुले मई दिवसका रुपमा मनाउँदै आएका छन् । यस वर्ष पनि सदा झैं संसारभरीका मजदुरहरु सँगै नेपालका मजदुर एवम् कम्युनिष्टहरुले पनि १२७ औं मई दिवस मनाई रहेका छन् । हाम्रो पार्टी यस ऐतिहासिक दिनमा नेपाल र विश्वका मजदुरहरुसँग जुझारु ऐक्यवद्धता सहित हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्दछ ।
नेपालमा कम्युनिष्ट क्रान्तिकारी एवम् मजदुरहरुले आफ्नो अधिकारका निमित्त संघर्ष र वलिदानका अनेकौं किर्तिमान कायम गरेका छन् । संघर्ष र वलिदानका किर्तिमानकै कारण आज नेपालमा ठूल्ठूला राजनैतिक परिवर्तनहरु भएका छन् । ती परिवर्तनसँग मजदुरहरुका कयौं हक अधिकार समेतलाई सम्बोधन गर्दै संविधान सभाबाट नयाँ संविधान बनेको छ । प्राप्त भएका यी उपलब्धिहरुको रक्षा गर्दै थप अधिकारका निमित्त संघर्ष गर्नु आज नेपालका मजदुर एवम् उत्पीडित जनताको कार्यभार बन्न गएको छ ।
“संसारका मजदुर एक होऔं” र “विद्रोह जनताको अधिकार हो” भन्ने महान् नारा अन्तर्गत समाजवादका निमित्त निरन्तर क्रान्तिको दिशामा अगाडि बढ्ने संकल्प सुदृढ गर्नु नै मई दिवस मनाउनुको मुख्य अर्थ हो । हाम्रो पार्टी यो महान् उद्धेश्यका निमित्त हमेशा मजदुर वर्गको राजनैतिक अग्रदस्ताको भूमिका खेलिरहने प्रतिवद्धता सहित पुनः नेपाल र संसारका मजदुरहरुलाई बधाई शुभकामना व्यक्त गर्दछ ।
१९ बैशाख, २०७३ ( १ मई)

………………………
प्रचण्ड
अध्यक्ष
एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)

127th-1st may-day_CMPrachanda_statement

कात्तिक ७, २०८१ बुधबार ७:२४:३६