विश्वमा कम्युनिष्ट आन्दोलन रक्षात्मक हुँदा नेपालमा आक्रामक: अध्यक्ष प्रचण्ड (भिडियाे)

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन विश्वमा रक्षात्मक हुँदा नेपालमा आक्रामक रुपमा कम्युनिष्ट आन्दोलन अगाडि बढेको बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टीको ७० औं स्थापना दिवस तथा नेपालको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान पु-याएका व्यक्तिहरुलाई सम्मान कार्यक्रमलाई आइतबार काठमाडौंस्थित सभागृहमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर तीनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘विश्वभर अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन रक्षात्मक हुँदा नेपालमा आक्रामक रुपमा कम्युनिष्ट आन्दोलन अगाडि बढेको छ ।’ झण्डै एक वर्ष अगाडि गरेको पार्टी एकताबाट जनताको पक्षमा काम गर्ने वातावरण बनेको उहाँको भनाइ थियो ।

जनताले दिएको दुईतिहाईको जिम्मेवारीप्रति पार्टी र सकार गम्भीर बन्नु पर्ने धारणा सुनाउँदै उहाँले भन्नुभयो, ‘जनअपेक्षा अनुसार काम गर्न सक्यौं कि सकेनौं ? समीक्षा आवश्यक छ । तीन महिनाभित्र पार्टी एकता टुंग्याउने घोषणा गरेका थियौं तर अहिले एक वर्ष नै हुन लागिसकेको छ । ढिलो भएको पक्कै हो, संविधान निर्माण, निर्वाचन, पार्टी एकताको घोषणा पनि ढिलोढिलो नै भएको थियो । अहिलेको एकता प्रकृया टुंग्याउन ढिला भएजस्तो तपाइँहरुलाई लाग्ला, तर पार्टी एकता अब टुंगियो, तपाइँहरुले चिन्ता नलिनु होला ।’

कार्यक्रममा सहभागी हुन आफू सिधै बालुवाटारबाट आएको जानकारी दिँदै अध्यक्ष प्रचण्डले जिल्लाको नेतृत्व र जनसंगठनको नेतृत्व भोलि सोमबार नै टुंग्याउने गरी काम भइरहेको खुलासा गर्नुभयो । ‘दुई जना कमरेडलाई जिम्मा दिइसकेका छौं’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘पार्टी एकता सम्बन्धी आज बेलुका हुने निर्णयको घोषणा भोलि सोमबार हुनेछ ।’ लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसको दिन पारेर पार्टीको तल्लो तहको एकता प्रक्रिया टुंगो लगाउने नेकपाको योजना छ ।

कात्तिक ९, २०८१ शुक्रबार १२:७:२३