अन्तर्राष्ट्रिय क्षेत्रसँग सम्बन्ध विस्तार गर्न राष्ट्रसङ्घका महासचिवको भ्रमण महत्त्वपूर्ण रहेको छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्तर्राष्ट्रिय क्षेत्रसँग सम्बन्ध विस्तार गर्न संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको को भ्रमण महत्त्वपूर्ण रहेको बताउनुभएको छ । नेपालको चारदिने औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रसङ्घका महासचिव गुटेरेसको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटवार्ता पश्चात आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘असाध्यै सकारात्मक छलफल भएको छ । यहाँको राजनीतिक उतारचढाव र शान्ति प्रक्रियाबारे उहाँलाई राम्रो थाहा छ र मौसम परिवर्तनका असरबारे पनि छलफल भयो ।’
उहाँले सौहार्दपूर्ण वातावरणमा दुईपक्षीय हित र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका विषयमा आफूहरुले छलफल गरेको उललेख गर्नुहुँदै मुख्यरुपमा जलवायु परिवर्तनको विषयमा गम्भीररुपमा चर्चा भएको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘नेपालमा जलवायु परिवर्तनका नकारात्मक असरको न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायमा संयुक्त राष्ट्रसङ्घको महासचिवको हैसियतले उहाँले खेल्नुभएको भूमिकाको उच्च प्रशंसा गर्यौँ ।’

नेपालको आर्थिक विकास र समृद्धिका बारेमा पनि छलफल भएको र नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नति हुनेक्रममा रहेकाले यो प्रक्रिया सहज बनाउन तथा तोकिएको समयमा दिगो विकास लक्ष्य हासिल गर्नका लागि सहयोग गर्न पनि प्रधानमन्त्री प्रचण्डले राष्ट्रसङ्घ महासचिव गुटेरेससँग आग्रह गर्नुभयो ।

कात्तिक ७, २०८१ बुधबार १०:१२:८