अपवाद बाहेक उद्घाटन र रिबन काट्न अल्झने छैन, ‘प्रधानमन्त्री’

श्रावण २२, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकाललाई प्रभावकारी बनाउन अपवाद बाहेक उद्घाटन कार्यक्रम र रिबन काट्ने काममा नअल्झने बताउनुभएको छ ।
शनिबार दिउसो बनस्थलीमा आयोजित गोरखा–काठमाडौं जनसम्पर्क मञ्चको एकताको पाँचौं भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘परिणाममूखी काम हुनुपर्छ भन्नेमा छु । यो कार्यक्रम प्रधानमन्त्री हुनुपूर्व नै तय भएकाले म आएँ, अब अपवाद बाहेक उद्घाटन कार्यक्रम र रिबन काट्ने काममा अल्झने छैन ।’
भेलामा प्रधानमन्त्रीले १० माओवादीको एकतापछि नेकपा (माओवादी केन्द्र) ठूलो दल बनेको बताउनुभयो । ‘संसदमा हामी अहिले पनि तेस्रो दलकै रुपमा उपस्थित छौं । तर, १० माओवादीको एकतापछि हामी ठूलो दल बनेका छौं । एकतालाई जनतासम्म पु¥याएर जनआकांक्षा पुरा गर्नतिर लाग्नु अवको प्राथमिकता हो, ‘प्रधानमन्त्रीले भन्नुभयो ।
संविधानको परिमार्जन सहित कार्यान्वयन, भूकम्पको पूनर्निर्माण र राहत, आर्थिक समृद्धि र जनआकांक्षाको परिपूर्ति सरकारको मूख्य कार्यभार रहेको भन्दै प्रधामन्त्रीले चुनौतिका बीच होसियारीपूर्वक परिणाम निकाल्ने बताउनुभयो ।
भेलामा नेकपा (माओवादी) केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, माओवादी केन्द्र संसदीय दलका प्रमूख सचेतक हितराज पाण्डे, नेताहरु देव गुरुङ, हरिराज अधिकारी, लेखनाथ न्यौपाने, अमृता थापा मगर लगायतले बोल्नुभएको थियो ।

कात्तिक ७, २०८१ बुधबार ९:५:४१