अबको निर्वाचन माओवादीका लागि ब्याटल हो: अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले अबको निर्वाचन माओवादी केन्द्रका लागि ब्याटल भएको बताउनुभएको छ। बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीका केन्द्रीय आयोगहरुको अन्तरक्रियात्मक संयुक्त बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चुनाव फरक प्रकारको ब्याटल भएको बताउनुभएको हो।

पार्टीका नेता कार्यकर्ताहरुले संगठन व्यवस्थित नगर्दा र अलि निष्क्रिय हुँदा प्रतिक्रियावादीहरुले कसरी आक्रमण गछन् भन्ने संसद विघटनसम्मको घटनाले देखाएको भन्दै अध्यक्ष प्रचण्डले संसद विघटनको घटना संविधान विघटन र परिवर्तनकामी शक्तिमाथिको आक्रमण भएको बताउनुभयो।

आफूहरुले परिवर्तनको रक्षाका लागि अपील गरेको बताउँदै अध्यक्ष प्रचण्डले संविधान, गणतन्त्र, संघीयता र समावेशी समानुपातिक जस्ता उपलब्धिहरुलाई जोगाउन आफूहरुले जित्नैपर्ने बताउनुभयो। अहिलेको मुख्य काम स्थानीय तहको निर्वाचनमा सकारात्मक परिवर्तन ल्याउन पहल गर्नुपर्ने भन्दै उहाँले सबैले राजनीतिक र प्राविधिक रुपमा आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभयो।

पार्टीमा भएका असल, अनुशासित र विषयगत क्षेत्रका कुशल कमरेडहरुलाई आयोगमा राखिएको भन्दै अध्यक्ष प्रचण्डले आयोगका सदस्यहरुलाई पार्टीका निर्वाचन केन्द्रीत अस्थायी कमाण्डमा कार्यविभाजन गरेर जोडिन र फिल्डमा काम गर्न निर्देशन दिनुभयो। बैठकमा अनुशासन आयोगकाम सचिव अशोक रोकाया, लेखापरीक्षण आयोगका सचिव टेकनाथ आचार्य र निर्वाचन आयोगका सचिव प्रदीप पोखरेलले आ–आफ्नो आयोगको रिपोर्ट प्रस्तुत गर्नुभएको थियो।

कात्तिक ७, २०८१ बिहीबार ४:२२:४५