अहिले संविधान कार्यान्वयन र पुनर्निर्माणको चुनौति छः अध्यक्ष प्रचण्ड

तनहुँ, १३ चैत । अध्यक्ष प्रचण्डले अहिले राष्ट्रका सामु संविधान कार्यान्वय र भूकम्पमा क्षति भएका भौतिक संरचनाहरुको पुनर्निर्माणको चुनौति भएको बताउनु भएको छ । तनहुँको दमौलीमा क्रान्तिकारी पत्रकार संघद्वारा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरु सँग कुरा गर्दै उहाँले यस्तो बताउनु भएको हो ।  उहाँले भन्नुभयो,‘संविधान कार्यान्वयन, विकास निर्माण, स्थिरता र शान्तिको निम्ति लगातार आवाज उठाईरहेको छु ।’

नेपालको राजनीतिलाई सकारात्मक दिशातिर लैजान भरपुर कोशिस गरिने उहाँको भनाई थियो । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण पश्चात भएको चीन भ्रमणले नेपालको आर्थिक विकासको निम्ति महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने जनतालाई अपेक्षा रहेको बताउनु भयो । चीन भ्रमणका क्रममा भएका सम्झौताले रणनैतिक महत्व राख्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो, ‘संविधान घोषणा पूर्व नेपाली काँग्रेस र नेकपा एमालेसँग एमालेकै नेतृत्वमा सरकार निर्माण गर्ने भन्ने समझदारी भएको हो । त्यसै अनुसार यही सरकारलाई नै राष्ट्रिय सरकार बनाउने हो । यो सरकार फेर्ने आसय विल्कुल होइन ।’

उहाँले माओवादी पार्टीहरुको बीचको एकताका बारेमा माओवादी धाराहरु एकठाउँमा नआई सुखै छैन भन्नुभयो ।  उहाँले मधेसका जनतामा अझै संत्रास रहेको बताउँदै त्याहाँको स्थिति अझै सहज भई नसकेको धारणा राख्नुभयो । उहाँले मधेसको समस्या छिट्टै बैठक बसेर हल गर्नुपर्छ भन्नुभयो । त्यसैगरी जिल्ला प्रशासन कार्यालयमा जिल्लाका कार्यालय प्रमुखहरुले पनि उहाँलाई भेट गरेका थिए । जिल्लामा भएका विभिन्न क्षेत्रका गतिविधिहरुका बारेमा उनीहरुले अध्यक्षलाई जानकारी गराएका थिए । सो अवसरमा अध्यक्षले पुनर्निमाण, विकास, संविधान कार्यन्वयन गर्न र जनताको जीवनमा परिवर्तनको अनुभूत गराउन पनि राष्ट्रिय एकता अनिवार्य भएको बताउनु भएको थियो ।
अध्यक्ष प्रचण्ड तनहुँ जिल्लाका विभिन्न कार्यक्रमहरुमा सहभागी । २०७२ चैत १३ गते शनिवार

कात्तिक ६, २०८१ बुधबार ३:१८:४३