अहिलेको जनसरकारमा कांग्रेस एमाले पनि आएका छन्, ‘प्रचण्ड’

जेठ २६, सोलुखुम्बु । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनपछि बनेको जनसरकारमा कांग्रेस एमालेहरु पनि आएको बताउनु भएको छ ।
ने.क.पा. (माओवादी केन्द्र) सोताङ र महाकुलुङ गाउँपालिकाले संयुक्त रुपमा सोताङमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, ‘हिजो हामीले जनयुद्ध लड्यौं, जनताका आफ्नै प्रतिनिधिले आफ्नो सरकार चलाउनुपर्छ भन्यौं, त्यो बेला कांग्रेस, एमाले लगायतका पार्टीहरुले मानेनन् । अहिले सिंहदरबारको अधिकार गाउँ, नगरमा आएको छ । अहिले सम्पन्न भएको निर्वाचन कुनै गाउँ पञ्चायत वा गाउँ विकास समितिको निर्वाचन होइन । एक अर्थमा भन्दा यो जनसरकारको निर्वाचन हो । निर्वाचनमा कुन पार्टीले जित्यो वा जितेन, त्यो ठूलो कुरा होइन । तर, जनताले जितेका छन् । गाउँ–गाउँमा सरकार आएको छ । हिजो जनताको घरआँगनमा सरकार बन्नुपर्छ भन्दा आतङ्ककारी देख्ने कांग्रेस एमाले लगायतका पार्टीहरु पनि अहिले जनसरकारमा आएका छन् । माओवादीका लागि यो नै सबैभन्दा ठूलो विजय हो ।’
चुनौतिपूर्ण समयमा बनेको सरकारले नमूनायोग्य काम गरेको प्रचण्डले बताउनु भयो । उहाँले भन्नुभयो, ‘म प्रधानमन्त्री बन्दै थिएँ, एकथरि मान्छेहरु विदेशीको ईशारामा प्रचण्ड प्रधानमन्त्री बन्यो भनेर हल्ला गर्दै थिए । संविधान कार्यान्वयन नगर्न, चुनाव हुन नदिन, फास्ट ट्रयाक बेच्न, चीनसँग भएका सम्झौता कार्यान्वयन नगर्न, विकास र समृद्धिलाई अवरुद्ध गर्न प्रचण्ड आएको भन्दै हल्ला गर्दै थिए । तर, हामीले कामले त्यसलाई गलत सावित गरेरै छोड्यौं । प्रचण्ड प्रधानमन्त्री नभएको भए राष्ट्रिय एकता जोगिन्थ्यो त ? फास्ट ट्रयाक नेपाल आफैले बनाउँथ्यो त ? भारत र चीनबीच सन्तुलित सम्बन्ध बन्थ्यो त ? १८ घण्टासम्मको लोडसेडिङ अन्त्य हुन्थ्यो त ? ०.८% मा रहेको आर्थिक बृद्धिदर ७.५% पुग्थ्यो त ? विकास आयोजनाहरुले तिब्रता पाउँथे त ? विदेशमा रहेका नेपालीहरुले आफ्नै सरकारको अनुभूति गर्न सक्थे त ? पक्कै सक्दैनथे । त्यसैले हामीले भाषण र गफले होइन, कामले देशको प्रतिष्ठा जोगाएका छौं ।’
प्रधानमन्त्री पदमा रहँदा संविधान कार्यान्वयन, विकास र समृद्धिमा ध्यान केन्द्रित गरेको बताउँदै प्रचण्डले भन्नुभयो, ‘प्रधानमन्त्री पदमा रहँदा सम्पूर्ण ध्यान संविधान कार्यान्वयन, विकास र समृद्धिमा केन्द्रित गरें । माओवादी पार्टीले जित्छ कि हार्छ ? त्यसमा बिलकूल चासों राखिनँ । अबको ध्यान पार्टी निर्माणमा दिन्छु । प्रदेश र सङ्घको निर्वाचनसम्म माओवादी केन्द्र पहिलो पार्टी बनाउने संकल्प गर्छु । अरुले कुहेको पीठो बेचिरहेका छन्, हामीले गुणस्तरीय चामल बेचौं र माओवादी केन्द्रलाई फेरी पहिलो पार्टी बनाउने संकल्प गरौं ।’
सम्पूर्ण देश, कांग्रेसका अधिकांश नेताहरु र प्रतिपक्षी दलले समेत राजीनामा नदिन आग्रह गरे पनि राजनीतिमा नैतिकता र ईमान हुन्छ भन्ने तथ्य स्थापित गर्न आफूले स्वेच्छाले राजीनामा दिएर मूल्य मान्यताको संस्कार बसालेको प्रचण्डले बताउनु भयो । जनसभालाई माओवादी केन्द्र सोताङ गाउँपालिकाका अध्यक्षका उम्मेदवार सैमान राई, महाकुलुङ गाउँपालिकाका अध्यक्षका उम्मेदवार सागर किराँती लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

कात्तिक ७, २०८१ बुधबार २०:१२:१