‘आगामी अधिवेशनमा विचार, राजनीति र नेतृत्वसम्बन्धी निर्णय सहमतिबाट गर्नेछौं ‘

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामि अधिवेशनमा विचार, राजनीति र नेतृत्वसम्बन्धी निर्णय हामीले सहमती र समझदारीबाट गर्ने बताउनुभएकाे छ । नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनको आइतबार काठमाडौंमा आयोजित महाधिवेशन समुद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएको हो ।

उहाँले भन्नुभयाे, ‘हामीले पार्टी एकताको घोषणा गर्दा एउटा कुरा बडो सोचविचार गरेर सहमति गरिएको छ । आउने अधिवेशन हाम्रो एकताको महाधिवेशन हुनेछ’ उहाँले भन्नुभयो, ‘एकताको महाधिवेशनमा विचार, राजनीति र नेतृत्व सम्बन्धी निर्णय सहमतिको आधारमा गर्नेछौँ । अल्पमत वा बहुमतको आधारमा गर्ने छैनौँ भनेर हामी सबैले हस्ताक्षर गरेका छौँ ।’ 

उहाँले पार्टी एकताको महत्वपूर्ण कडी राजनीति प्रतिवेदन टुंग्याइएको पनि बताउनुभयाे । अध्यक्षले भोलि नै प्रिन्टमा जाने जानकारी पनि दिनुभयाे । ‘आज बिहानमात्रै बालुवाटारमा प्रधानमन्त्री केपी ओली र मेरोबीचमा एक वर्षदेखि सम्पूर्ण रुपले सहमति भएर प्रकाशनमा जान नसकेको राजनीतिक प्रतिवेदन टुंग्याइएको छ । भोलि त्यो प्रकाशनमा जाँदैछ’ उहाँले भन्नुभयो, ‘पार्टी एकताका सन्दर्भमा यो एउटा ठूलो काम हामीले आज पूरा गरेका छौँ ।’ 

राजनीतिक प्रतिवेदन नहुँदा पार्टीको विचार, राजनीतिक कार्यदिशा, संगठनात्मक नीति कुनचाहिँ आधिकारिक हो ? कुन नेताले भनेको पार्टीको लाइन हो ? कुन होइन भन्ने कन्फ्युजनजस्तो देखिएको र अब प्रतिवेदन छापिएर आएपछि सबैखाले कन्फ्युजन हट्ने उहाँले बताउनु भयो ।

अध्यक्ष प्रचण्डले पटक–पटक कम्युनिष्ट आन्दोलनलाई दबाउने, कुल्चिने निकै ठुला कसरतहरु समेत भएको उल्लेख गरेका छन् । ‘राणाकालदेखि ०६२/०६३सम्म आईपुग्दा हामीले त्यस्ता थुप्रै थुप्रै कसरतहरु देख्यौं र त्यसको प्रतिवाद हामीले गर्यौं ।’ अध्यक्ष प्रचण्डले भन्नुभयाे ।

अध्यक्ष प्रचण्डले असार महिनाभित्र एकताको बाँकी सबै काम सकि साउनबाट पार्टीले गाउँ गाउँसम्म अभियान चलाउने बताउनुभयाे । अध्यक्ष प्रचण्डले एकताका सबै कामहरु सहमतिबाटै टुंगिने प्रक्रियामा पुगीसकेको समेत प्रष्ट्याउनुभयाे ।

ठूलो बलिदानी र त्याग गर्ने कम्युनिष्टहरु शासनमा पुग्दा शासन कमजोर देखिएको भन्दै यसलाई सच्याउन आफुँहरु माथि ठूलो चुनौति रहेको उहाँकाे भना ई थियाे । उहाँले विश्वभरिको तितो अनुभबबाट सिक्दै कम्युनिष्ट आन्दोलनलाई माथि उठाउन लागिपरेको बताउनुभयाे ।

‘जस्तोसुकै बलिदान गर्न पछि नपर्ने र जनताको भरोसा लिन सिपालु हुने कम्युनिष्टहरु शासनमा पुगिसकेपछि शासन चलाउन नजान्जे । विश्वभरि बडो एउटा नकारात्मक तितो एउटा अनुभव देखिएकै छ ।’ अध्यक्ष प्रचण्डले भन्नुभयाे, ‘त्यो अक्टुबर समाजवादी क्रान्तिदेखि अहिलेसम्म आन्दोलन गर्ने हदसम्म लोकप्रिय शासन गर्ने ठाउँमा पुग्दा त्यो लोकप्रियताको ग्राफ माथि जाला भन्दा तलतिर ओर्लीने जुन खतरा छ हामीले त्यसको सामना गर्नुछ । हामी त्यो अग्नि परीक्षामा छौं ।’

कात्तिक ९, २०८१ शुक्रबार ८:१३:२१