आठौं पटक सगरमाथा आरोहण गर्ने तामाङसहित पाँच जना आरोही माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । सगरमाथाको आठौं पटकसम्म आरोहण गर्ने रसुवा जिल्ला कालिका गाउँपालिका वडा नं. १ का कामी सिङ्गी स्याङ्बा तामाङसहितको आरोहीहरुको टोली सोमबार माओवादी केन्द्रमा प्रवेश गरेको छ । उहाँहरुलाई पार्टी अध्यक्ष प्रचण्डले साेमबार निवास खुमलटारमा आयोजित एक कार्यक्रममा स्वागत गर्नुभएको थियो ।

यसरी प्रवेश गर्नेमा ७ पटक सगरमाथा आरोहण गर्ने सोही वडाका लाल बहादुर तामाङ, २ पटकसम्म सगरमाथाको आरोहण गर्ने मिङमार तामाङ, समाजसेवी तथा युवा व्यवसायी नामग्याल तामाङ, नेपाली कांग्रेसका सक्रिय सदस्य तथा युवा व्यवसायी छिरिङ तामाङ लगायतका व्यक्तिहरु रहनुभएकाे छ । उहाँहरूलाई अध्यक्ष प्रचण्डले टीका र माला लगाई पार्टी प्रवेश गराउनुभएकाे थियो ।

सो अवसरमा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा, रसुवा जिल्लाका नेताहरु जगतजंग, समिर, दावा मोक्तान तामाङ लगायतका नेताहरुको उपस्थिति रहेको थियो । अध्यक्षले पार्टीमा प्रवेश गर्ने सबैलाई उचित जिम्मेवारी दिने बताउनुभयो । रसुवा जिल्लाका नेताहरुले जिल्लाका समस्याहरुका बारेमा अध्यक्षलाई अवगत गराउँदै जिल्लाको वस्तुस्थिति बुझ्न रसुवा जिल्लामा आमन्त्रण गर्नुभएको थियो ।

कात्तिक ७, २०८१ बुधबार १९:२४:१५