आर्थिक समृद्धि हाँसिल नगरी समाजवाद सम्भव छैनः अध्यक्ष प्रचण्ड

काठमाडौं, २९ माघ । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक समृद्धि हाँसिल नगरी समाजवाद सम्भव नहुने बताउनु भएकाे छ । मङ्गलबार सरल यात्रीको ‘शिखरको ढुङ्गा’ नामक पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयाे, ‘समाजवाद तिरको यात्रा एउटा नयाँ यात्रा हो । शान्तिपूर्ण प्रतिस्पर्धाको माध्यमबाट समाजवादको आधार निमार्ण गर्ने र समाजवादी क्रान्तिको तयारी गर्ने एउटा महायात्रा हो ।’ अबको दशक समाजवाद निमार्णको दशक हुने बताउनुहुँदै फेरि अर्को शिखर चढ्ने दशक बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।

उहाँले दाेस्राे पटक प्रधानमन्त्री बन्दा सचेत ढंगले राष्ट्र, राष्ट्रिय एकता, परिवर्तनलाई संस्थागत गर्न र देशलाई नयाँ दिशा दिनका लागि योजनाबद्ध रुपमा अगाडि बढ्ने अवधिको रुपमा रहेको उल्लेख गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘अहिले हामी पार्टी एकतामा आइपुगेका छौं । दुई तिहाई बहुमत कम्युनिष्ट सरकार छ । राजनितीक स्थिरता छ । अब देश एउटा नयाँ अभियान तिर लाग्छ ।’

संविधानको घोषणा र निर्वाचन सम्पन्न गरिसकेपछि एउटा क्रम टुङ्गिएको उहाँको भनाइ छ । एउटा नयाँ क्रमको शुरुआत भएको स्पष्ट गर्दै यो नयाँ क्रम नयाँ क्रान्तिका रुपमा अगाडि आउने बताउनुभयाे ।

कात्तिक ९, २०८१ शुक्रबार १६:१८:२४