एक दशकभित्र आर्थिक क्षेत्रमा क्रान्तिकारी परिवर्तन सम्भव छः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले आगामि दश वर्षमा देशको आर्थिक क्षेत्रको क्रान्तिकारी परिवर्तन सम्भव रहेको बताउनु भएको छ । ‘देशमा भएको साधन स्रोत र जनशक्तिको सहि परिचालनबाट आउने एक दशकभित्र आर्थिक क्षेत्रमा ठूलो क्रान्तिकारी परिवर्तन सम्भव छ,’ उहाँले भन्नुभयो ।

राजधानीस्थित पर्यटन बोर्डमा बिहिवार बिहान साना तथा मझौला व्यवसायी महासंघ, नेपालको १५औं स्थापना दिवसको उद्घाटन गर्दै अध्यक्षले भन्नुभयो, ‘अहिले सरकार दुई तिहाई बहुमतको छ । लामो समयपछि देशमा आर्थिक विकासको निम्ति राजनीतिक वातावरण तयार भएको छ । सरकार र सबै राजनीतिक दलहरुले देशको स्थिरता, सुशासन र आर्थिक विकास यतिबेलाको मूल एजेण्डाका रुपमा मानेका छन् ।’

उहाँले देशको आर्थिक विकासका लागि सकारात्मक वातावरण बनाउन छिमेकीहरुसँग सरकार र पार्टी दुबैको तर्फबाट राम्रो सम्बन्ध रहेको बताउनु भयो । ‘अहिले भारत र चीन दुबैसँग सन्तुलित सम्बन्धको विकास भएको छ । हामीलाई दुबै देशको आर्थिक विकासबाट लाभान्वित हुने अवसर छ । केही समयअघि हाम्रा प्रधानमन्त्रीको भारत भ्रमण, भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण र केही समयपछि नेपालका प्रधानमन्त्रीको चीन भ्रमण र छिट्टै फेरि चीनबाट पनि उच्चस्तरीय नेपाल भ्रमण हुनेछ । यी भ्रमणहरुले पनि आर्थिक विकासलाई नै मुख्य एजेण्डा बनाउने छन् ।’

देशको आर्थिक विकास गरी ठूलो मात्रामा रोजगारी सृष्टि गर्न अन्तर्राष्ट्रियरुपमा पनि आफूहरुको पहलकदमी भएको उहाँको भनाई थियो । ‘यसबाट सुधारात्मक ढंगले मात्र नभई नयाँ र क्रान्तिकारी तरिकाले आर्थिक विकास हुने सम्भावना रहेको अध्यक्ष प्रचण्डले भन्नुभयो । रेमिटेन्स््बाट देशको अर्थतन्त्र चलेको बताउनुहुँदै अध्यक्षले भन्नुभयो, ‘तर त्यसबाट नेपाली समाजमा जे जति पीडा, दुःख, विकृति र विसंगति भित्रिए त्यसको मूल्यमा रेमिट्यान्सबाट आएको भन्दा धेरै ठूलो क्षति नेपाल राष्ट्रले ब्योहोर्नु परेको छ । विदेशबाट आउने विभिन्न खालका सांस्कृतिक विचलनका परिस्थितिलाई मूल्यमा हिसाब गर्यो भने त्यो अमूल्य हुन जान्छ । यो क्षति हामीले भन्दा आउने पुस्ताले बढी देख्नेछ ।’

विदेशीएका लाखौं नेपालीलाई स्वदेश फर्काउन देशभित्र उद्योग, व्यवसाय, रोजगारी, शान्ति, स्थिरता र सुशासनको वातावरण बनाएपछि मात्र सम्भव हुने अध्यक्ष प्रचण्डको भनाई थियो । उहाँले अहिले स्थायी सरकार आर्थिक समृद्धिका लागि अवसर भएको तर अवसर आफैं परिणाममा परिणत नहुने प्रस्ट्याउनु भयो । त्यसको निम्ति सबैले मेहेनत गरी सृजनात्मक ढंगले कामहरुलाई अगाडि बढाउने संकल्प गरेमात्र यो अवसरलाई ठीक ढंगले सदुपयोग गर्न सक्ने उहाँको धारणा थियो । अध्यक्ष प्रचण्डले साना तथा मझौला उद्योगले आर्थिक विकास, समृद्धि र रोजगारी सृष्टि गर्न आधारको काम गर्ने बताउनुभयो 

कात्तिक ७, २०८१ बुधबार ८:१५:५०