एकजुट भएर प्रकोपको सामना गर्न नेकपा अध्यक्ष प्रचण्डको आग्रह

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकोपको सामना एकजुट भएर गर्नुपर्ने बताउनु भएको छ । जिल्ला बिपद व्यवस्थापन समिति चितवनको बैठकलाई आइतबार सम्बोधन गर्नुहुँदै उहाँले कोरोना र प्रकोप बिरुद्धको संघर्ष कमजोर हुन नहुने बताउनुभयो ।

अहिले बाढी, पहिरोको उच्चजोखिम भएको भन्दै उहाँले नेकपाले आफ्नो बैठक एक साताका लागि स्थगित गरेर जनताको माझमा आफूहरु आएको बताउनुभयो । उहाँले भन्नुभयो, “बाढी पहिरोको उच्च जोखिममा छ । यस्तो बेलामा पार्टीका राजनैतिक गतिविधि र अन्य विवादले यो एकता कमजोर नहोस् ।”

पार्टीको बैठकभन्दा जनतासँग जाने कुरा मुख्य हो भनेर आफूहरुले बैठक रोकेको बताउनुभयो । कोरोना र बिपद विरुद्धको संघर्षमा एकता नै मुख्य कुरा भएको उहाँको भनाई थियो । अध्यक्ष प्रचण्डले भन्नुभयो “एकतालाई कमजोर पार्ने काम कहि कतैबाट भयो भने त्यो जनताको पक्षको काम भन्ने ठहरिँदैन ।” पार्टी एकताको पक्षमा उठेका बिषयमा भईरहेको पहललाई सकारात्मक रुपमा लिदैं उहाँले भन्नुभयो “यसमा पनि तपाईहरुको पहल भैराखेको छ । त्यसका लागि धन्यवाद ।” आगामी दिनमा अझै दृढताका साथ एकतावद्ध भएर अगाडि बढ्न उहाँले आग्रह गर्नुभयो ।

कोरोना क्षयरोग जस्तै लामो समय रहन सक्ने भन्दै उहाँले कोरोनासंगै हिँड्न र बाँच्न सिक्नु पर्ने बताउनुभयो । दुई चार दिन ढिलो, छिटो खोप पत्ता लाग्ने भन्दै उहाँले भन्नुभयो “त्यसको उपचार पनि आउँछ । सन्चो पनि हुन्छ । अहिले पनि सन्चो भईराखेकै छ । उच्च मनोवल भएपछि रोगसंग लड्न सकिन्छ ।”

सतर्कता अपनाउन र उच्च मनोवलका साथ एकतावद्ध भएर रोगका बिरुद्ध लड्न उहाँले सुझाब दिनुभयो । यस रोग बिरुद्ध सबै राजनैतिक शक्ति, नागरिक समाज, पत्रकार सबै एकतावद्ध हुनुपर्ने अध्यक्षको भनाई थियो । उहाँले जिल्लामा राप्ती, नारायणी र रिउ नदीमा तटवन्ध सहितको रिङ्गरोड निर्माणका लागि बिस्तृत अध्ययन प्रतिवेदन वनेर अर्थमन्त्रालयमा बजेटका लागि पेस भएको बताउनुभयो । यस संगै यस क्षेत्रको बिकासमा नयाँ आयाम आउने उहाँको भनाई थियो । दाहालले भन्नुभयो “यो मेरो ड्रिम प्रोजेक्ट हो । यो चितवनका जनताको सम्बृद्धिको आधार बन्छ ।” 

बर्षातको समयमा नभएर समयमानै बिपद व्यवस्थापनको तयारी र बिकास निर्माणको काम गर्नु पर्नेमा अध्यक्षको जोड थियो । उहाँले जिल्लामा रहेका खहरे खोलाहरुको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो ।

कात्तिक ७, २०८१ बुधबार ९:१४:५९