एकता प्रक्रिया टुङ्ग्याएर छिट्टै अभियानमा जाने अध्यक्ष प्रचण्डको भनाई

चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले सबै संगठनका एकता प्रक्रिया ढिलो भएको साँचो भएको स्वीकार्नुहुँदै आजै कार्यदलबाट रिपोर्ट लिने र छिट्टै सबै टुङ्ग्याएर अभियानमा जाने बताउनु भएको छ ।

चितवनको भरतपुर पुग्नुभएका अध्यक्ष प्रचण्डले सञ्चाकर्मीहरुसँग कुरा गर्दै फागुन र चैतको अभियान जसरी पनि पुरा गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सरकारको तर्फबाट दिनप्रतिदिन जनताको पक्षमा कार्यक्रमहरु घोषणा भएका छन् । विकास निर्माणका काममा गति पक्रिन थालेको छ ।’

सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै अध्यक्षले भेनेजुयलाको बारेमा पार्टी सचिवालय बैठक बसेर हस्तक्षेपको बिरोधमा नै वक्तव्य जारी भएकाले अब अरु कुराले केही अर्थ नराख्ने पनि बताउनुभयो ।

अध्यक्षले भन्नुभयो, ‘नेपालमा शान्ति प्रक्रियाको बाँकी कामलाई अगाडि बढाउन कुनै समस्या नै छैन । सबै राजनीतिक दलहरुबीचमा सहमति नै छ । ऐन संशोधनका निम्ति सबैसँग कुरा भएको छ । शान्ति प्रक्रियासँग सम्बन्धित बिषय सत्ता पक्ष र प्रतिपक्षबीच एकै धारणा छ ।’

उहाँले नेपालको शान्ति प्रक्रियाको बारेमा विभिन्न राजदूतहरुको वक्तब्य नेपालको आन्तरिक मामिलामा अनावश्यक चासोको अभिव्यक्ति भएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले नारायणी र राप्ती नदीमा निर्माण हुने तटबन्धनसहितको रिङ रोडले यहाँको मुहार फेरिने भन्दै उहाँले भौतिक तथा पूर्वाधार मन्त्रालयले डिपिआर तयार पार्न बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

कात्तिक ९, २०८१ शुक्रबार १४:१४:३