कटौती भएको बिदा संशोधनको माग गर्दै मुस्लिम समुदायद्वारा अध्यक्ष समक्ष ज्ञापन पत्र पेस

काठमाडौं । नेपाल मुस्लिम इत्तेहाद संगठनले केही समय पहिले पूर्व नेपाल राजपत्रमा प्रकाशित भएको सार्वजनिक बिदा मिलान सम्वन्धी व्यवस्थामा ‘इदुल अज्हा’ तथा ‘महम्मद डे’ को बिदालाई धार्मिक बिदाबाट सामुदायिक बिदामा राखेकोमा गम्भीर आपत्ति जनाएको छ ।

उक्त समुदायले आज बिहान नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डलाई पार्टी केन्द्रीय कार्यालयमा भेटी ध्यानाकर्षण गराएको हो । उक्त संगठनले आन्दोलनको उपलब्धीलाई सजिलैसँग कटौती गरेको भन्दै यसलाई सच्चाउन पहल गरिदिन अध्यक्ष प्रचण्डसमक्ष अनुरोध गरेको छ ।

संगठनले वाम गठबन्धनको वर्तमान सरकारमा मुस्लिम समुदायबाट प्रतिनिधित्व नभएको भन्दै संविधानमा भएको व्यवस्था अनुसार समानुपातिक समावेशी सिद्धान्त अनुसार मुस्लिमको अधिकारलाई कार्यान्वयन गर्न माग पनि गरेको छ ।

मुस्लिमहरुको माग प्रति आफ्नो समर्थन रहेको बताउँदै उहाँले भन्नुभयो,‘तपाईहरुको माग जायज छ । यो हामीले लडेर ल्याएको हो । यसको संवेदनशीलता र गम्भीरताप्रति मेरो ऐक्यवद्धता छ ।’

उहाँले मुस्लिम समुदायका लागि यो निर्णयमा कमजोरी भएको बताउनु भयो । अध्यक्षले भन्नुभयो, ‘आन्दोलनबाट प्राप्त उपलब्धीका रुपमा रहेको मुस्लिमको अधिकार सच्चाइन्छ ।’

कात्तिक ७, २०८१ बुधबार १३:५९:५२