कर्णालीबाट प्रतिगामीहरुलाई शून्य बनाउने अध्यक्ष प्रचण्डको उद्घोष

जुम्ला । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले कर्णालीमा प्रतिगामी, निरंकुशतावादी र सामन्तवादीहरुलाई शून्य बनाउनु पर्ने बताउनु भएको छ। मंगलबार जुम्लामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिगमनकारी, निरंकुशतावादी र सामन्तवादीलाई शून्य बनाएर कर्णालीबासीले रेकर्ड राख्नुपर्ने बताउनु भएको हो। ‘तपाईं कर्णालीवासीले प्रतिगमनकारीहरुलाई शून्य बनाएर रेकर्ड बनाउनु पर्नेछ’, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘कर्णाली प्रदेश जागरण र परिवर्तनको प्रदेश, न्याय समानताको पक्षमा दृढतापूर्वक उभिने प्रदेशका रुपमा खडा गर्नुपर्ने छ। जुम्लावासीले रेकर्ड बनाए कर्णालीभरि नै त्यही बन्नेछ ।’ मंसिर ४ गते दुई विचार, दुई प्रवृत्ति, दुई संस्कृतिका बीचको चुनावी लडाईं भएको चर्चा गर्दै अध्यक्ष प्रचण्डले अहिलेको निर्वाचन सामान्य औपचारिक चुनाव मात्रै नभएको बताउनु भयो।

‘यो निर्वाचनमा एउटा गठबन्धन ७० वर्ष लडेर प्राप्त गरेका अधिकार रक्षा गर्न चाहने पक्षमा उभिएको छ, त्यसको नेतृत्व हामीले गरेको छौं,’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अर्को गठबन्धन संविधान तथा जनताले पाएको अधिकार उल्ट्याउन चाहने केपी ओली नेतृत्वको गठबन्धन छ । त्यसैले यो सामान्य औपचारिक निर्वाचनको अभ्यास मात्रै छैन । जनताले जनताको अधिकारको रक्षा गर्ने कि यसलाई उल्ट्याउने भन्नेका बीचको लडाइँको रुपमा मंसिर ४ को निर्वाचन छ ।’ दुई तिहाइको सरकार बचाउन नसक्ने, संविधानमाथि घात गर्ने, संसद् विघटन गर्ने र पार्टी विघटन गरेर धुजा धुजा पार्ने एमाले अध्यक्ष ओली यही निर्वाचनबाट पत्तासाफ हुने प्रचण्डले बताउनु भयो। ओली नेतृत्वको गठबन्धनलाई भोट दिनु भनेको निरंकुशता र अराजकताको भूमरीतर्फ देशलाई लैजान चाहनु भएको चर्चा गर्दै प्रचण्डले देशलाई फेरि विघटन र प्रतिगमनतिर जान नदिन सचेत भएर वाम–लोकतान्त्रिक गठबन्धनको पक्षमा भोट खसाल्न समेत आह्वान गर्नुभयो।

देशमा राजनीतिक स्थिरता र आर्थिक विकास आवश्यक रहेको भन्दै अध्यक्ष प्रचण्डले ७० वर्षसम्म लडेर ल्याएको संविधानलाई च्यात्ने केपी ओलीले जनतासँग माफी माग्नुपर्ने बताउनु भयो। ओलीले संविधान मिचेर लोकतन्त्रका आधारभूत मूल्यमान्यता भत्काएपछि आफूहरुले वाम लोकतान्त्रिक शक्ति मिलेर अहिलेको गठबन्धन बनाएको उहाँले बताउनु भयो। ‘अब नयाँ नेपाल निर्माण गर्ने अभिभारा पनि यही गठबन्धन दललाई नै छ । त्यसैले तपाईंहरुले चुनावमा हाम्रो गठबन्धनको पक्षमा मत खसाल्नुहोस्।’

कर्णालीको विकास सरकारको प्राथमिकतामा
आगामी निर्वाचनपछि वाम–लोकतान्त्रिक गठबन्धनकै सरकार बन्ने भन्दै प्रचण्डले कर्णालीको विकास पूर्वाधारका लागि विशेष प्राथमिकता दिनेमा जोड दिनुभयो। कर्णालीको सडक पिचसँगै फराकिलो बनाउने प्रतिबद्धता व्यक्त गर्दै उहाँले आर्थिक गतिविधि र व्यापार व्यवसायको विकासका लागि समेत सडक पूर्वाधार अति आवश्यक भएको बताउनु भयो।

‘कर्णालीमा पहिले बिरामी ओसारिन्थ्यो, अहिले डाक्टर उत्पादन गरेर देशभरिका बिरामीलाई उपचार गर्न पठाउन सक्ने भइसकेको छ’, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हामीले कर्णाली र सुदूरपश्चिमको भौतिक विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन विकासमा जोड दिने भनेका छौं। कर्णालीको विकास हाम्रो दिमागमा सबैभन्दा अघि नै छ। प्रदेश र संघको निर्वाचनपछि गठबन्धनको सरकार बन्छ । अत्यधिक बहुमत पनि आउँछ । अनि समृद्ध कर्णालीको अभियान अघि बढ्छ।’

अध्यक्ष प्रचण्डले आज नै जुम्लाको सिञ्जा, कालिकोटको मान्म र रास्कोट तथा हुम्लाको सर्केगाडमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुभएको छ।

असोज ६, २०८१ आइतबार १२:१५:१९