‘कांग्रेस–एमाले हात्ती, माओवादी माउते’ – अध्यक्ष प्रचण्ड

सिम्पानी–खोटाङ, ११ असार । पूर्व प्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा एमाले हात्ती र माओवादी केन्द्र माउतेको भूमिकामा रहेको बताउनु भएको छ ।
आइतबार दिउँसो खोटाङको सिम्पानीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘संविधान बनाउने बेला मैले नै सुशील कोइरालालाई राष्ट्रपति र केपी ओलीलाई प्रधानमन्त्री भनेर घोषणा गरेपछि संविधान बन्यो । स्थानीय तहको निर्धारण र स्थानीय तहको निर्वाचन घोषणामा पनि माओवादीकै निर्णायक भूमिका रह्यो । हेर्दा हात्ती माउतेभन्दा ठूलो र बलवान् पनि देखिन्छ । तर, हात्तीलाई माउतेले तह लगाउँछ । अहिले कांग्रेस र एमाले हात्तीको भूमिका छन्, माओवादीले माउतेको भूमिकामा उनीलाई गणतन्त्र, संघीयता, स्थानीय तह र परिवर्तनको बाटोमा हिडाइरहेको छ ।’
सभामा प्रचण्डले माओवादी केन्द्र सत्ताका लागि लुछाचुडी नगर्ने पार्टी भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘कांग्रेस–एमालेलाई देश र जनताको हितभन्दा सत्ताको लुछाचुडी नै राम्रो लाग्छ । उनीहरु सहमति गर्छन् । तर, पालना गर्दैनन् । एउटाले अर्कालाई धोका दिनु, छलछाम गर्नु र सत्ताका लागि देशलाई नै बन्धक बनाउनुलाई राजनीति ठान्छन् । तर, माओवादी त्यस्तो गर्न सक्दैन । बेइमानी माओवादीको चरित्र र संस्कारभित्र पर्दैन, माओवादी इमान र निष्ठाको राजनीति गर्छ ।’
सभामा माओवादी केन्द्र खोटेहाङ गाउँपालिकाका अध्यक्षका उम्मेदवार राजनप्रसाद ढकाल र उपमेयरकी उम्मेदवार सुशील बान्तवा राईले गाउँपालिकाको विकासबारे आफ्नो प्रतिवद्धता राख्नुभएको थियो ।


दिक्तेल बजार । सिम्पानीको जनसभापछि अध्यक्ष प्रचण्डले दिक्तेलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुभयो । सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘जन्म कालदेखि नै कांग्रेस गणतन्त्रवादी पार्टी होइन, उ राजतन्त्रकै पक्षमा थियो । १२ बुंदे समझदारीका बेला मैले गीरिजाबाबूलाई भनेको थिए, हामीलाई गणतन्त्रभन्दा तलको सम्झौता मान्य छैन । गीरिजाबाबूले जाने त गणतन्त्रमै हो । तर, मैले पार्टीलाई मनाउन समय लाग्छ भनेको कुरा अहिले पनि स्मरण हुन्छ । माओवादी र सडकको जनलहरले मात्रै कांग्रेस गणतन्त्रमा आएको हो । एमाले त गणतन्त्रलाई बयलगाडा चढेर अमेरिका जानुजस्तै भन्थ्यो । एमाले त गणतन्त्र विरोधी पार्टी नै हो ।’
गणतन्त्र, संघीयता, स्थानीय तह, आर्थिक समृद्धि र राजनीतिक इमानको प्रतीक माओवादी भएको बताउँदै प्रचण्डले माओवादीले नजिते देश फेरि अप्ठ्यारोमा पर्नसक्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘परिवर्तन र देशको समृद्धिको योजना हाम्रो हो, हामीले नै यो देशलाई यहाँ ल्याएका छौं । तर, फेरि पनि चुनाव कांग्रेस–एमालेले जिते भने देश अप्ठ्यारोमा पर्न सक्छ । अहिलेको स्थानीय तह स्थानीय जनसरकार हो, जनताको सरकार हो । तर, कांग्रेस–एमालेले जिते भने यसलाई गाउँ पञ्चायत र नगर पञ्चायत बनाउनेछन् । त्यो प्रतिगामी बाटो रोक्न पनि माओवादीले जित्नुपर्छ ।’
सभामा माओवादी नेता टंक राई, विश्लेषक हरि रोका, रुपाकोट मझुवागढी नगरपालिकाका मेयरका उम्मेदवार दुर्गाजयन्ती राई लगायतका वक्ताहरुले माओवादीको नेतृत्वमा मात्रै समृद्ध नगरपालिका बन्नेमा जोड दिनुभएको थियो ।

कात्तिक ७, २०८१ बुधबार २१:८:२२