कांग्रेस, माओवादी केन्द्र र राजपाको बैठक सम्पन्न

असार २७, काठमाडौं । संविधान संशोधन विधेयकका विषयमा छलफल गर्न बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र र राजपाका नेताहरुको बैठक सम्पन्न भएको छ ।
मंगलबार बेलुका प्रधानमन्त्री शेरबहादुर देउवाको आब्हानमा बालुवाटारमा बसेको बैठकमा संविधान संशोधन विधेयकका विषयमा कुराकानी भएको थियो । बैठकमा सत्तारुढ दलका नेताहरुले मंगलबार बिहान प्रमूख प्रतिपक्षी दलका नेताहरुसँग भएको कुराकानीबारे राजपाका नेताहरुलाई जानकारी गराउनु भएको थियो ।
बैठकमा सत्तारुढ दलका नेताहरुले संविधान संशोधन विधेयक अगाडि बढाउन सरकार तयार रहेको जानकारी दिँदै तेस्रो चरणको स्थानीय निर्वाचनमा प्रतिवद्धता जनाउन राजपाका नेताहरुलाई आग्रह गर्नुभएको थियो । नेताहरुले बिहान प्रमूख प्रतिपक्षी दलका नेताहरु संविधान संशोधनको प्रस्तावमा छलफल गर्न सकारात्मक रहेको राजपाका नेताहरुलाई जानकारी दिँदै अन्तर्वस्तुमा भने छलफल गर्न बाँकी रहेको बताउनु भएको थियो ।
बैठकमा राजपाका नेताहरुले तेस्रो चरणको स्थानीय तह निर्वाचनमा भाग लिन आफूहरु सकारात्मक रहे पनि संविधान संशोधन, मधेश आन्दोलनका क्रममा आफ्ना नेता, कार्यकर्तामाथि लगाइएको मुद्धा फिर्ता, २ नम्वर प्रदेशमा स्थानीय तहको संख्या थप लगायतका विषयमा सरकार थप लचिलो हुनुपर्ने विचार राख्नुभएको थियो । बैठकले थप छलफल गरेर संविधान संशोधन विधेयकबारे निर्णय पुग्ने निर्णय लिएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राजपा संयोजक महन्त ठाकुर लगायतका शीर्ष नेताहरु सहभागी हुनुहुन्थ्यो ।

कात्तिक ७, २०८१ बुधबार २१:९:५७