कुलमानलाई उचित जिम्मा दिने मौकाको खोजीमा थिएँ, ‘प्रधानमन्त्री’

माघ १५, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक–दुई वर्षयता आफू कुलमान घिसिङलाई उचित जिम्मेवारी दिने मौकाको खोजीमा रहेको बताउनु भएको छ । शनिबार काठमाडौंको टुँडिखेलमा आयोजित सोनाम ल्होसार कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो ।
तामाङ जातिको नयाँ वर्ष सोनाम ल्होसार कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘नेपाल जलविद्युत र पर्यटनमा अथाह सम्भावना बोकेको मुलूक हो । लोडसेडिङको अन्त्य र विद्युतीकरण गरेर मात्र देशमा समृद्धि हासिल गर्न सकिन्छ भन्ने मेरो सोंच हो । कुलमान घिसिङजीको क्षमता र इमान्दारितालाई मैले विगत एक–दुई वर्षयता नजिकबाट हेरिरहेको थिएँ । कति बेला मौका मिल्ला र उहाँलाई उचित जिम्मेवारी दिन सकिएला भन्ने मौकाको खोजीमा थिएँ, प्रधानमन्त्री भएपछि त्यो मौका मिल्यो, सरकारले उहाँलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनायो । आज उहाँले हाम्रो विश्वासलाई व्यवहारमा उतार्नुभएको छ । म उहाँलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु । जिम्मेवारी पायो भने जुनसुकै जाति र समुदायको व्यक्तिले पनि गरेर देखाउन सक्छ भन्ने कुरा तामाङको छोरो कुलमानजीले प्रमाणित गरेर देखाउनुभएको छ । ’
कार्यक्रममा प्रधानमन्त्रीले जनयुद्ध र जनआन्दोलनको बलमा स्थापित गणतन्त्रले महत्वपूर्ण परिवर्तन ल्याएको बताउनु भयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘अहिले राष्ट्रपति महिला हुनुहुन्छ, उपराष्ट्रपति जनजाति समुदायको हुनुहुन्छ, प्रधानन्यायाधीश महिला हुनुहुन्छ, सभामूख जनजाति समुदायको महिला हुनुहुन्छ, उपसभामूख मधेशी हुनुहुन्छ । यो सबै जनयुद्धकै राजनीतिक र परिवर्तनकारी सोंचको देन हो । अझ संयोग भनौं, उहाँहरु सबैलाई प्रस्ताव गर्ने संयोग पनि मलाई नै जुट्यो ।’
समसामयिक राजनीतिक परिस्थितिबारे बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘हामी संघीय गणतन्त्रमा आइपुगेका छौं । नयाँ संविधान गतिशील र प्रगतिशील छ । तर, यसले सबैको स्वामित्व ग्रहण गर्न सकेको छैन । सरकार संविधान संशोधनमार्फत् सबैको पहिचान र अधिकारलाई अधिकतम् रुपमा सम्बोधन गर्ने प्रक्रियामा छ । संविधानको स्वीकार्यता बढाएर निर्वाचनमा जान सरकार पूर्ण संकल्पित छ । यसले मात्रै प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकारको ढोका खोल्न सक्छ ।’
प्रधानमन्त्रीले थप्नुभयो, ‘दायाँ बायाँ दुवैतिर खुकुरीको धार छ । बीचबाट जोगिएर हिड्नुपर्ने परिस्थिति हाम्रोसामू छ । अतिवादी सोचका विरुद्ध दृढतापूर्वक उभिएर मात्रै हामीले चुनौतिलाई अवसरमा बदल्न सक्छौं । हामी संघर्ष गरेर नै यो ठाउँमा आइपुगेका छौं । फेरि पनि चुनौतिलाई अवसरमा बदलेर देशलाई राजनीतिक स्थिरता दिन र आर्थिक समृद्धिको दिशामा लैजान हामी गम्भीर छौं ।’
कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई, नेकपा (माओवादी–क्रान्तिकारी) का अध्यक्ष मोहन वैद्य, संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, नेपाली कांग्रेसका केन्द्रीय सदस्य कपिल लामा, नेकपा एमालेका सांसद शेरबहादुर तामाङ, सोनाम ल्होसार मुल आयोजक समितिका संयोजक मोहन गोले लगायतका वक्ताहरुले सोनाम ल्होसार राष्ट्रिय संस्कृतिको विकास, तामाङ समुदायको उत्थान र राजनीतिक अधिकार प्राप्तिको दिशामा सकारात्मक योगदान गर्ने धारणा राख्नुभएको थियो ।

कात्तिक ७, २०८१ बुधबार १९:१२:५९