खेल क्षेत्रको प्रवर्द्धनका लागि कुनै कसर बाँकी राख्दिनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रको प्रवर्द्धनका लागि आफू सरकार प्रमुखको हैसियतले कुनै कसर बाँकी नराख्ने बताउनुभएकाे छ। आज साँझ सरकारी निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा चीनमा आयोजित १९ औं एसियाली खेलकूदमा विजयी खेलाडीहरुलाई बधाई ज्ञापन गर्नुहुँदै प्रधानमन्त्रीले यस्ताे बताउनुभएकाे हाे । उहाँले साे अवसरमा खेलाडीहरूलाई आउने दिनमा अझै ठुलो सफलता प्राप्त गर्नेगरी लाग्न शुभकामना दिनुभयो । उहाँले यसपटकको एसियाली खेलकूदमा महिलाहरुको प्रस्तुति नौलो भएको उल्लेख गर्दै आउने दिनमा अझै ठूला सफलता प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीद्वारा एसियाली खेलकूदका विजयी खेलाडीलाई बधाई

प्रधानमन्त्री प्रचण्डले आफु खेलाडीलाई हौसला प्रदान गर्न होङजाओ पुगेर एसियाली गेम्स उद्घाटनमा सहभागी भएको स्मरण गर्दै विजेता खेलाडीलाई उचित पुरस्कार दिने काममा आफू लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘केही कानुनी जटिलताले ढिलाइ हुन पुगेको हो, अब त्यसको पनि समाधान भएको छ ।’
उहाँले खेल क्षेत्रको विकासका लागि सरकारको अंग आफूलाई ठानेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारको अङ्ग म पनि हो भन्ने हामी सबैले ठान्यौं । हामीले केही अन्तर्राष्ट्रिय पदक हासिल गरेका छौं । केही मेडल ल्यायौं ।’
प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘चीन जाने बेलामा आफूले महिला सहभागिता देखेर बधाई दिएको थिएँ । अहिले महिलाले नै मेडल र रेकर्ड बनाउनुभयो । तपाईंहरूलाई बधाई दिन चाहन्छु । खेलाडीको प्रोत्साहनको लागि मैले रकम दिने घोषणा गरेको थिएँ । नियमावली पास गरेका थियौं । आजको क्याबिनेटमा निकासाका लागि निर्णय भयो र अब एक हप्तामा त्यो आउँछ ।’
नेपालको खेल विश्वले हेरेको बताउँदै क्रिकेटमा अन्तर्राष्ट्रिय रेकर्ड राखेको भन्दै प्रधानमन्त्रीले खुसी व्यक्त गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘संयुक्त राष्ट्रसंघ पुगेर आए । यसपालि नेपाललाई विश्वले देखेको छ, सुनेको छ । तपाईंहरूले पनि विश्व रेकर्ड बनाएर नेपालको नाम स्थापित गर्नुभएको छ । तपाईंहरुको प्रस्तुतिले पनि नेपाललाई विश्वले देख्ने र सुन्ने स्थानमा पुर्याएको छ ।’ उहाँले नेपाली खेलाडीको एसियाली खेलमा गरेको प्रस्तुतिले आफूलाई खुसी र गर्वको महशुस भएको बताउनुभयो ।

कात्तिक ७, २०८१ बुधबार १०:२२:४५