‘खेल क्षेत्रमा व्यावसायिक रुपमा लाग्न सक्ने वातावरण राज्यले निर्माण गर्नुपर्छ’

चितवन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले खेल क्षेत्रमा व्यावसायिक रुपमा लाग्न सक्ने वातावरण राज्यले निर्माण गनुपर्ने बताउनुभएको छ । उहाँले खेल क्षेत्रबाट राज्यले गर्व गर्नसक्ने स्थिति निर्माण गर्नुपर्ने भन्नुहुँदै राज्यले खेलकुदको विकासमा धेरै गर्नु बाँकी रहेको बताउनुभयो ।

अखिल नेपाल फुटबल संघको आयोजना र भरतपुर महानगरपालिकाको मुख्य प्रयोजनमा तथा चितवन जिल्ला फुटबल संघको स्थानीय आयोजनामा संचालन हुन गइरहेको “राष्ट्रिय महिला फुटबल लिग–२०७८” को उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले खेल स्वास्थ्यको लागि राष्ट्रको लागि र समृद्धिको लागि हुनुपर्ने बताउनुभयो । खेलकुद क्षेत्रको विकासमा आफ्नो सधै जोड रहने उहाँको भनाई छ । उहाँले भन्नुभयो “मैले पहिलोचोटी गणतन्त्र नेपालको प्रधानमन्त्री हुँदा मेरो ध्यान र जोड खेल क्षेत्रलाई संस्थागत रुपमा विकास गर्ने प्रयत्न थियो।”

आफु पनि विद्यार्थी कालमा फुटबलको खेलाडी भएको स्मरण गर्दै उहाँले फुटबल क्षेत्रको विकासको निम्ति पनि पहल गरेको बताउनुभयो । अध्यक्ष प्रचण्डले स्वास्थ्यको लागि खेल, राष्ट्रकोलागि खेल र संमृद्धिकोलागि खेल भन्ने मान्यता भित्र रहेर पहिलो र दोस्रो कार्यकालमा खेल क्षेत्रको विकासमा योगदान पु्र्याउन महत्वपुर्ण भुमिका निवाह गर्दै आएको बताउनुभयो ।

उहाँले महिला खेल क्षेत्रमा योगदान गर्ने खेल क्षेत्रका अगुवा खेलाडी र प्रशिक्षकहरु र खेलाडीलाई धन्यवाद दिनुभएको थियो । अध्यक्षले राज्यले खेलाडीहरुलाई खेल क्षेत्रबाट नै व्यावसायीक रुपमा लाग्न सक्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । उहाँले भरतपुरमा क्रिकेट रंगशाला निमार्णको दायित्व राज्यले लिने समेत बताउनुभयो । अध्यक्ष प्रचण्डले चितवनमा खेल पर्यटनको राम्रो सम्भावना रहेको भन्दै त्यसको निम्ति सबैको ध्यान जानुपर्ने बताउनुभयो ।

कात्तिक ८, २०८१ बिहीबार ८:९:९