खेल राष्ट्रिय एकताको आधार होः अध्यक्ष प्रचण्ड

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले खेल राष्ट्रिय एकताको आधारसमेत भएको बताउनुभएको छ । कास्की जिल्ला भलिबल संघको आयोजनामा पोखराको तालबाराही बिच भलिबल कोर्टमा आजदेखि शुरु छैटौँ महिला तथा सातौँ राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिता उद्घाटन गर्दै उनले नेपालमा हरेक किसिमका खेलका लागि अनुकूल वातावरण रहेकाले राज्यले खेलको विकासका लागि प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

खेलाडीलाई उत्प्रेरित गर्न र यसबाट पनि सम्मानित जीवन जीउन सकिन्छ भन्ने वातावरण तयार गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष प्रचण्डले आफूले खेलका साथै संस्कृति र कलालाई पनि उच्च प्राथमिकतामा राख्दै आएको उल्लेख गर्नुभयो । पोखरा नेपालको प्रमुख पर्यटकीय गन्तव्य भएको चर्चा गर्दै उहाँले यहाँको विकासले समग्र राष्ट्रको विकासमा टेवा पुर्याउने बताउनुभयो ।
पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै सम्पन्न हुने आशा पलाएको भन्दै अध्यक्ष प्रचण्डले फेवाताल संरक्षणका लागि पनि आफूले पहल गर्ने जानकारी दिनुभयो ।

पोखराको रत्न मन्दिर र हिमा गृहलाई सर्वसाधारणका लागि खुला गर्न पर्यटन व्यवसायीले ध्यानाकर्षण गराएकाले यसका लागि सरकार एवं सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराइने उहाँले बताउनुभयो ।

पोखरामा बढ्दो सवारी चापको अवस्थासँगै चक्रपथ निर्माणको विषय अघि आएको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसका लागि प्रक्रिया अघि बढाउन पनि आफ्नातर्फबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यस प्रतियोगिताबाट आगामी मङ्सिरमा हुने दक्षिण एशियाली बिच भलिबल प्रतियोगिताका लागि खेलाडी छनोट गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले रु ३० हजार, द्धितीयले रु २० हजार र तृतीयले रु १० हजार पुरस्कारसहित पदक तथा प्रमाणपत्र पाउने छन् ।

कात्तिक ९, २०८१ शुक्रबार १०:११:१३