गठबन्धन तोडेर प्रधानमन्त्री हुने कल्पना पनि गरेको छैन, ‘प्रचण्ड’

काठमाडौं, पुस १९ । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाम गठबन्धन तोडेर प्रधानमन्त्री हुने आफूले कल्पना पनि नगरेको बताउनु भएको छ ।
बुधबार दिउँसो पार्टी कार्यालय, पेरिसडाँडामा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हामीले बाम गठबन्धन बनाएर चुनाव लड्यौं, लाखौं कार्यकर्ता र करोडौं जनताले बाम गठबन्धन र पार्टी एकतालाई अनुमोदन गरिसकेका छन् । अब त्यसबाट दायाँबायाँ हुने कल्पना पनि गर्न सकिँदैन । बाम गठबन्धन तोडेर प्रधानमन्त्री हुने कल्पना पनि गरेको छैन । मीडियामा विभिन्न भ्रमहरु पनि आएका छन्, त्यसमा कुनै सत्यता छैन ।’
‘पार्टी एकताबारे हामीमा कुनै विवाद र बिमति छैन । पार्टी एकता संयोजन समितिमा ओलीजी र मलाई शीर्ष नेताको रुपमा राखिएको छ । हामी दुवैबीच उपर्युक्त कार्य विभाजन हुन्छ, त्यसमा कुनै समस्या छैन’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हामीले पुल भत्काएर अघि बढिसकेकाले अब पनि पार्टी एकता हुँदैन कि भनेर शङ्का गर्नु भ्रम मात्र हुन जान्छ । ओलीजीको स्वास्थ्यमा थोरै समस्या आएकाले एक, दुई दिन ढिलो भएको हो, छिट्टै हामी बस्छौं, पार्टी एकता संयोजन समितिमा छलफल गर्ने एजेण्डा टुङ्गाउँछौं र एकताको प्रक्रिया अगाडि बढाउँछौं ।’
बुधबार नै एमाले र माओवादी केन्द्रनिकट बुद्धिजीवी संगठनले संयुक्त रुपमा पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘पहिलो र दोस्रो विश्व युद्धताका लेनिनले बुद्धिजीवीहरु अवसरवादी हुन्छन् भन्नुभयो । तर, अहिले दुनियाँ त्यहाँ छैन । विज्ञान, प्रविधि र अनुसन्धानमा आएको विकासले बुद्धिजीवीको परिभाषा र भूमिका फेरिएको छ । पछिल्ला राजनीतिक परिवर्तनहरुमा बुद्धिजीवीहरुको निकै सकारात्मक भूमिका रहँदै आएको छ । हामीले बाम गठबन्धन बनाउँदा राजनीतिक स्थीरता र आर्थिक समृद्धिको संकल्प गरेका छौं, त्यसका लागि विज्ञहरुको सहयोग चाहिन्छ । घोषणापत्रमा उल्लेख गरिएका विषयलाई कार्यान्वयन गर्न तपाईहरुको खाँचो छ ।’
‘हामीले जोखिम मोलेर नै पार्टी एकताको प्रक्रिया अघि बढाएका छौं । कतिपयलाई एमाले–माओवादी एकताले आश्चर्य पनि लाग्यो होला, कतिपय विधि पनि हामीले तोड्यौं । तर, जतिसुकै राम्रो विधि अपनाए पनि निर्णय राम्रो भएन भने त्यसको कुनै अर्थ रहँदैन’ प्रचण्डले भन्नुभयो, ‘अहिले हामीले गरेको निर्णय देशको पक्षमा छ, जनताको पक्षमा छ, राजनीतिक स्थीरता र विकासको पक्षमा छ । हामीले राजनीतिक भूमरिबाट देशलाई निकाल्ने संकल्प गरेका छौं । कसैले पार्टी एकता हुँदैन कि भन्ठानेको छ भने त्यो कल्पना मात्र हुन्छ । हामी छिट्टै एकता प्रक्रिया टुङ्गाउँछौं, तपाईहरुले पनि बौद्धिक समूहमा त्यही सन्देश पु-याउनु होला ।’

 

कात्तिक ९, २०८१ शुक्रबार १६:१९:५०