गृहमन्त्री, सचिव र आईजिपीलाई बोलाएर जानकारी लिन्छु, ‘प्रधानमन्त्री’

८ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तरजातीय बिवाहमा दलित युवाको हत्या भएको भन्ने घटनाबारे गृहमन्त्री, गृहसचिव र आईजिपीलाई बोलाएर जानकारी लिने बताउनुभएको छ ।
बुधबार संयुक्त राजनीतिक दलित संघर्ष समितिले पेश गरेको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले काभ्रे घटना गम्भीर प्रकृतिको प्रतिनिधिमूलक घटना भएको भन्दै तुरुन्तै गृहमन्त्री, गृहसचिव र आईजीपीलाई बोलाएर घटनाको यथार्थ बुझ्ने बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘तपाईहरुले घटनाको जानकारी गराउनुभयो, त्यसका लागि धन्यवाद । यो गम्भीर प्रकृतिको प्रतिनिधिमूलक घटना हो । म तुरुन्तै गृहमन्त्री, गृहसचिव र आईजिपीलाई बोलाएर यसबारे जानकारी लिन्छु र आवश्यक प्रक्रिया अघि बढाउँछु ।’ भेटमा प्रधानमन्त्रीले गरीबका लागि सरकार, मन्त्रीपरिषद्मा दलितहरुको प्रतिनिधित्व र देशभरीका दलितका बच्चाहरुको जन्मदर्तामा प्रोत्साहन भत्ता दिने जस्ता निर्णय दलित र अन्य उत्पीडित वर्गतिर फर्कने सोंचसहित आएको बताउनुभयो ।
बुधबार संयुक्त राजनीतिक दलित संघर्ष समितिका प्रतिनिधिहरुले प्रधानमन्त्रीलाई भेटी ज्ञापनपत्र बुझाएका हुन् । दलित अगुवाहरुले काभ्रे जिल्ला पाँचखाल–६ का अजित (ढकाल) मिजारको अन्तरजातीय बिवाहका कारण हत्या भएको भन्दै त्यसको निष्पक्ष छानविन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । अगुवाहरुले हत्यामा केटी पक्षका आफन्त र स्थानीय प्रशासनको समेत मिलेमतो रहेको भन्दै प्रधानमन्त्रीसँग केन्द्रीय तहमा छानविन समिति बनाउन, पीडकलाई कार्वाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका थिए ।

कात्तिक ८, २०८१ बिहीबार ९:९:४७