गैरआवासीय नेपालीहरुको नागरिकता समस्या हल गर्न पहल गर्ने अध्यक्ष प्रचण्डको प्रतिवद्धता

ललितपुर । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीहरुको नागरिकता सम्बन्धी समस्या हल गर्न पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ । मंगलवार निवास खुमलटार आएको गैरआवासीय नेपाली संघको प्रतिनिधि मण्डललाई अध्यक्षले भन्नुभयो, “गैरआवासीय नेपालीहरुको समस्याका बारेमा हामीले पहिलेदेखि नै आवाज उठाउँदै आएका थियौं र अहिले पनि हाम्रै पहलमा सदनमा पेस भएको नागरिकता सम्बन्धी विधेयक पास गराई समस्याको समाधानका लागि प्रतिवद्ध छौं ।”

भेटवार्तामा गैरआवासीय नेपाली संघको प्रतिनिधि मण्डलले नागरिकता समस्या सहितका विषयहरु समावेश गरी सदनमा पेश भएको नागरिकता विधेयक ल्याउनमा माओवादी पार्टीका तर्फबाट भएको पहलका लागि धन्यवाद दिँदै विधेयक सदनबाट पास गराएर ८० लाख गैरआवासीय नेपालीहरुको अधिकार सुनिश्चित गर्न पहलका लागि अनुरोध गरेको थियो ।

उक्त भेटघाट कार्यक्रममा पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको पनि उपस्थिति थियो भने संघका तर्फबाट संस्थापक अध्यक्ष उपेन्द्र महत्तो, अध्यक्षद्वय कुल आचार्य र डा. बद्री केसी, उपाध्यक्ष महेश श्रेष्ठ, युरोपका रिजनल कोर्डिनेटर चिन्तामणी सापकोटा, रमेश काफ्ले लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कात्तिक ८, २०८१ बिहीबार १०:८:४९