क्रिकेट रंगशाला निर्माणमा सरकारले आवश्यक सहयोग गर्छः अध्यक्ष

चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष एवंम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्ध अन्तर्राष्टिय क्रिकेट रंगशाला निर्माणमा सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएकाे छ । प्रेस संगठन चितवनले भरतपुरमा बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आवश्यक परे सरकारले पनि सहयोग गर्ने बताउनुभएकाे हाे।

उहाँले गौरवका ठूला आयोजना सम्पन्न गराउन प्रोत्साहन गर्ने भनेर सरकारले नीतिगत रुपमा नै व्यवस्था गरिसकेकाले निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयाे । उहाँले भन्नुभयाे, ‘ठूला आयोजना सम्पन्न गराउने क्रममा सहयोग संकलन जे जति उठ्छ, त्यतिले नपुगे सरकारले सहयोग गर्छ ।’

‘केही साना समस्या आउँछन्, तर विचलित नभईकन अगाडि बढ्नुपर्छ, चाँडै अगाडि बढाउने छलफल भइसकेको छ’ अध्यक्ष प्रचण्डले भन्नुभयाे। उहाँले यस्ता आयोजनाले मुलुकको समृद्धिमा सहयोग पुग्ने भएकाले आआप्mनो स्थानबाट सकेको सहयोग गर्न सबैलाई आग्रह पनि गर्नुभयाे । अध्यक्ष प्रचण्डले पछिल्लो समय आवश्यक तयारी नगरी विधेयक आउँदा विरोध भइरहेको बताउनभयाे ।

अध्यक्ष प्रचण्डले आगामी दिनमा कमीकमजोरीलाई सच्याउँदै अघि बढ्ने भएकाले धेरै विरोध गरिरहन नपर्ने बताउनुभयाे । यसै सन्दर्भमा उहाँले मिडिया काउन्सील विधेयक आवश्यक परिमार्जन हुने आश्वासन दिनुभयाे । पार्टीभित्रको मुख्य विषयमा सहमति भइसकेको भन्दै अध्यक्ष प्रचण्डले केही साना विषयलाई पनि प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएपछि टुंग्याउने बताउनुभयाे ।

कात्तिक ८, २०८१ बिहीबार २०:२:४३