चिनियाँ उपमन्त्रीद्वारा अध्यक्ष प्रचण्डसँग भेट

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री वाङ या चिङले पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ । सोमबार बिहान अध्यक्ष निवास खुमलटारमा भएको भेटमा नेपालको आर्थिक समृद्धिमा चिनियाँ सहयोगका बारेमा चर्चा भएको थियो ।

भेटमा अध्यक्षले कम्युनिष्ट पार्टीहरुबीचको एकताले जनतामा आशा जगाएको बताउनुहुँदै जनताले पार्टी एकतालाई चुनावमा जिताएर अनुमोदन पनि गरेको उल्लेख गर्नुभयो । चीनको द्रुत आर्थिक विकास नेपालका लागि प्रेरणाको स्रोत भएको अध्यक्ष प्रचण्डको भनाई थियो ।

अध्यक्षले विदेशमन्त्री समक्ष नेपालको आर्थिक विकासमा चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र जनताको निरन्तर सहयोग रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्नुभयो । उहाँले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘ म प्रधानमन्त्रीका रुपमा पहिलो पटक चीन जाँदा ‘कनेक्टिभिटी’ को कुरा उठाएको थिएँ । अहिले त्यो कार्यान्वयनको प्रक्रियामा जाँदैगर्दा खुसी लागेको छ ।’

विदेशमन्त्री चिङले राष्ट्रपति सिजिङ पिङको अध्यक्ष प्रचण्डप्रति न्यानो अभिवादन रहेको सन्देश सुनाउनुभयो । उहाँले ठूला कम्युनिष्ट पार्टीहरुको एकताबाट देशमा स्थायीत्व कायम भएकोमा बधाई दिनुभयो । विदेशमन्त्री चिङले चीन नेपाल र नेपालीको प्रगति र समृद्धिका लागि सदैव तयार रहेको बताउनुभयो । बेल्ट एण्ड रोड इनिसेटिभका लागि चौतर्फी वातावरण तयार भएको उहाँको भनाई थियो ।

कात्तिक ७, २०८१ बिहीबार ४:२२:१५