छठ पर्वको अवसरमा अध्यक्ष प्रचण्डको शुभकामना सन्देश

छठ पर्व नेपालको तराई–मधेश लगायत देशका सबै क्षेत्रमा बसोबास गर्ने मधेशी समुदायको ऐतिहासिक पर्व हो । सर्वप्रथम मधेशी समुदायको यस ऐतिहासिक पर्व छठको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, राष्ट्रिय एकता र प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानअन्तर्गत तीनै तहको निर्वाचन सम्पन्न गरी संविधानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नु, हिमाल, पहाड, तराई, सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा आर्थिक समृद्धि हासिल गर्नु र संविधानद्वारा निर्देशित समाजवादउन्मूख राज्यको दिशामा अगाडि बढ्नु राष्ट्रिय प्राथमिकता हो । नेपालका सम्पूर्ण बामपन्थी, प्रगतिशील, देशभक्त र लोकतान्त्रिक शक्तिहरुको व्यापक ध्रुवीकरणका बलमा समाजवादको आधार तयार पार्न सकिन्छ भन्ने तथ्यमा हाम्रो पार्टी स्पष्ट रहँदै आएको छ । छठ पर्वको अवसरमा संविधानको कार्यान्वयनमार्फत् समाजवादको आधार तयार पार्ने राष्ट्रिय अभियानमा हातेमालो गर्न मधेशी समुदाय लगायत सम्पूर्ण नेपालीहरुमा हार्दिक अपील गर्दछु ।
हाम्रा चाडपर्व र संस्कृति कुनै जाति, भाषा र धर्म विशेषको पहिचान र परम्परामा मात्र सीमित छैनन् । बरु, राष्ट्रिय एकता, पारस्पारिक सद्भाव, राष्ट्रिय मौलिक संस्कृतिको निर्माणका लागि पनि उत्तिकै महत्वपूर्ण रहँदै आएका छन् । नेपालको यस ऐतिहासिक बिरासतप्रति गर्व गर्दै सम्पूर्ण मधेशी जनसमुदायमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।
९ कार्तिक, २०७४

पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष

पुष १२, २०८१ शुक्रबार १४:२८:४१