छड्के गरेर भएपनि जनतालाई सेवा दिनुस्, ‘प्रधानमन्त्री’

माघ १३, कुश्मा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारी कार्यालय र कर्मचारीहरुको छड्के जाँच गरेर भए पनि जनतालाई राम्रो सेवा दिन पर्वत जिल्लास्थित सरकारी कार्यालयका प्रमूखहरुलाई निर्देशन दिनुभएको छ ।
बिहीबार जिल्ला सदरमुकाम कुश्मा सरकारी कार्यालयका प्रमूखहरुलाई प्रधानमन्त्रीले उक्त निर्देशन दिनुभएको हो । प्रधानमन्त्री भन्नुभयो, ‘हुने र मिल्ने काममा पनि सरकारी कर्मचारीले जनतालाई दुःख दिने गरेको गुनासा आएका छन् । जनताको सेवालाई केन्द्रमा राखेर काम गर्नुस् । प्रमूख जिल्ला अधिकारी यहीँ हुनुहुन्छ, सरकारी कार्यालय र कर्मचारीको छड्के जाँच गरेर भएपनि जनतालाई राम्रो सेवा दिनुहोस् ।’
कार्यालय प्रमूखहरुलाई निर्देशन दिँदै प्रधानमन्त्रीले थप्नुभयो, ‘पूँजीगत खर्च बढाउने सरकारको लक्ष्य छ । त्यसमा तपाईहरुले विशेष रुपमा ध्यान दिनुहोस् । जिल्लास्थित विकास आयोजनाहरुको निरन्तर निरीक्षण र अनुगमन गरेर नजितामूखी काम गर्नुस् । सरकारी बजेट अनावश्यक शीर्षकमा खर्च हुने गरेको बेथिति रोक्नुस् र सुशाासनको प्रत्याभूति गराउनुस् । पर्वत जिल्ला पनि भूकम्प प्रभावित जिल्ला हो, पूनर्निर्माणको कामलाई प्राथमिकता दिनुस् र मोडेल जिल्ला बनाउनुस् ।’
सरकार स्थानीय तहको निर्वाचनको मिति घोषणाको तयारीमा रहेको जानकारी दिँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘निर्वाचन नगरी संविधान कार्यान्वयन हुँदैन । सरकार स्थानीय तहको निर्वाचनको तयारीमा छ । तपाईहरुले त्यसको राम्रो तयारी गर्नुस् । अब देश निर्वाचनको दिशामा अघि बढ्छ ।’

कात्तिक ७, २०८१ बुधबार ७:१५:२१