छिट्टै चुनावको मिति घोषणा हुन्छ, ‘प्रधानमन्त्री’

२४ मंसीर, सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार निर्वाचनको मिति घोषणाको अन्तिम तयारीमा रहेको बताउनु भएको छ ।
शुक्रबार बिहान सुर्खेतको बिरेन्द्रनगरमा पार्टीनिकट अगुवा कार्यकर्ताहरुसँगको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो । माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले जनयुद्ध, जनआन्दोलन लगायतका बलिदानीपूर्ण संघर्षका उपलब्धी संस्थागत गर्न संविधानको कार्यान्वयन अपरिहार्य भएको भन्दै निर्वाचनबाट संविधान कार्यान्वयन हुने बताउनु भयो ।
संविधान संशोधन प्रस्तावबारे प्रधानमन्त्रीले भन्नुभयो, ‘संशोधन प्रस्तावको सीमाङ्कन हेरफेरको विषयलाई लिएर जुन आन्दोलन भइरहेको छ, यसका पछाडि ठूलो षडयन्त्र छ । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता लगायत जे–जति उपलब्धीहरु माओवादीको पहलमा भयो, ति सबैलाई उल्ट्याउने षडयन्त्रबाट आन्दोलन प्रेरित त छैन भन्ने प्रश्न उठेको छ ।’ उहाँले अगाडि भन्नुभयो ‘जसलाई संघीयता मन परेको छैन, गणतन्त्र मन परेको छैन, समावेशी समानुपातिकता पनि मन परेको छैन तिनिहरुले नै यी सब बखेडा झिकिरहेका छन् ।’ उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्धका गतिविधि निस्तेज पार्न पहलकदमी लिन कार्यकर्तालाई अपील गर्नुभयो ।
‘हालसम्मका सबै उपलब्धी माओवादी जनयुद्धको जगबाट प्राप्त भएकाले माओवादी पार्टी सबैभन्दा लोकप्रिय बन्ने सम्भाबना रहेको छ । निरास हुनुपर्ने कुनै कारण छैन, नयाँ जोश, जाँगर र उत्साहका साथ चुनावको तयारीमा जुट्न कमरेडहरुलाई आग्रह गर्दछु । हामी बलियो भएनौं भने सबै उपलब्धी उल्टिने खतरा छ । हामी बलियो भयौं, सक्रियतापूर्वक लाग्यौं, जनतालाई एकतावद्ध बनायौं भने मात्रै हामीले राष्ट्रलाई एकताबद्ध पार्न सक्छौं ।’
उहाँले माओवादी पार्टीलाई एकताबद्ध पार्न आफू क्रियाशील रहेको बताउँदै मोहन वैद्य, बाबुराम, विप्लवहरुसँग पनि पार्टी एकता हुने विश्वास व्यक्त गर्नु भयो । ‘माओवादीहरु मिल्नुको विकल्पै छैन ।’

कात्तिक ९, २०८१ शनिबार ०:१६:५२