‘जनताको मालिक होइन, सेवक बन्ने संकल्प आवश्यक छ’, अध्यक्ष प्रचण्ड

काठमाडौं, फागुन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सांसदहरुले जनताको सेवक बन्ने संकल्प बोक्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का सांसदहरुका लागि आयोजित संयुक्त प्रशिक्षण कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष प्रचण्डले हिजोका तीतो अनुभवलाई बदल्दै जनताको मालिक होइन, सेवक बन्ने अठोट लिनुपर्ने बताउनुभएको हो ।
नयाँ युगतिर नयाँ ऐतिहासिक कदम अगाडि बढेको बताउनुहुँदै अध्यक्ष प्रचण्डले विगतका राम्रा नराम्रा अनुभवको विश्लेषण गरेर राम्रालाई आत्मसा तगर्ने र नराम्राबाट शिक्षा लिएर अघि बढ्न निर्देशन दिनुभयो ।

सामन्तवादलाई अन्त्य गरेर लोकतन्त्रको युगमा प्रवेश गरेपछि अब समाजवादको यात्रामा अघि बढेको बताउनुहुँदै अध्यक्ष प्रचण्डले विगतको जस्तै प्रवृतिले नेपाली जनताको चाहना पुरा हुन नसक्नेमा जोड दिनुभयो । “इतिहासमा नेताहरुले लिने निर्णयले इतिहास एक सय वर्ष अगाडि या पछाडि बदलिन सक्छ । अहिले हामी अगाडि जाने संकल्पसाथ पार्टी एकतामा होमिएका छौं ।” अध्यक्ष प्रचण्डले भन्नुभयो, “इतिहासको दायित्व सम्झेर हामी बदलिनु सक्नुपर्छ ।”

बस्तुगत आत्मगत दुबै दृष्टिले एक ठाउँमा आएर पार्टी एकता भएको वहाँले बताउनुभयो । अब कार्यदलको प्रतिवेदनपछि छिट्टै पार्टी एकता गर्ने वहाँको भनाई थियो । जनताले सुशासन, समृद्धि र विकासका लागि स्थायित्व खोजेका छन भन्नुहुँदै अध्यक्ष प्रचण्डले निर्वाचनमार्फत जनताले दिएको जनादेशलाई कदर गरेर समाजवादको आधार तयार गर्ने महाअभियानमा इमान्दारितासाथ लाग्न सांसदहरुलाई निर्देशन दिनुभयो । “हाम्रो साझा लक्ष भनेको देशलाई समृद्धिको बाटोबाट समाजवादको निर्माण गर्ने हो । यसका लागि आर्थिक समृद्धि र विकास जरुरी छ । सुशासन र समृद्धि यतिखेरको टडकारो काम भएकोले राजनीतिक अराजकताले पैदा गरेको फोहोर सफा गर्नुपर्दछ । यसका लागि गहिरो संकल्प र दृढताका साथ नयाँ ढंगले अघि बढनु जरुरी छ ।”
File Photo

कात्तिक ६, २०८१ बुधबार ४:११:११