जनताको स्वास्थ्यमा खेलवाड नगर्न अध्यक्ष प्रचण्डकाे सरकारलाई आग्रह

स्वास्थ्य सेवा प्रभावकारी बनाई जनतालाई राहत दिन केन्द्रित हुनुको सट्टा वर्तमान सरकारको शिलान्यास र उद्घाटनमा केन्द्रित हुने आचरणले अप्ठ्यारो दिनको सामना गर्नुपर्ने त होइन भन्ने नेपाली जनसमुदायमा आशंका बढाएको छ । म सरकारसँग जनताको स्वास्थ्यमा खेलवाड नगर्न तथा उच्च प्राथमिकताका साथ सबै स्थानीय निकायमा स्वास्थ्य उपकरण र सामग्रीको समुचित व्यवस्था मिलाउन विशेष आग्रह गर्दछु ।

प्रेस विज्ञप्ति


आज कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरको महामारी फैलिएको घटनाले सिंगो देश आक्रान्त भएको छ । यस संक्रामक भाइरसको दोस्रो लहरका कारण निधन भएका सम्पूर्ण नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै तिनका शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गर्न चाहन्छु । साथै भाइरसबाट संक्रमितहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

विश्व मानव जातिका लागि नयाँ चुनौतिका रुपमा देखापरेको कोरोना भाइरस (कोभिड–१९)का कारण हालसम्म १४ करोडभन्दा बढी मानिस संक्रमित भएका छन् भने करीब ३० लाख मानिसको मृत्यु भइसकेको छ । कोरोना संक्रमणको दोस्रो लहर अझ आक्रामक एवम् तीब्र संक्रामकका रुपमा देखिएको छ । छिमेकी राष्ट्र भारतमा एकै दिन लाखौं व्यक्ति संक्रमित र हजारौंको संख्यामा मृत्युको तथ्याङ्कले पनि खुल्ला सीमा रहेको हाम्रो देशको स्थिति भयावह बन्ने तर्फ सचेत रहनुपर्ने भएको छ ।

स्वास्थ्य सेवा प्रभावकारी बनाई जनतालाई राहत दिन केन्द्रित हुनुको सट्टा वर्तमान सरकारको शिलान्यास र उद्घाटनमा केन्द्रित हुने आचरणले अप्ठ्यारो दिनको सामना गर्नुपर्ने त होइन भन्ने नेपाली जनसमुदायमा आशंका बढाएको छ । म सरकारसँग जनताको स्वास्थ्यमा खेलवाड नगर्न तथा उच्च प्राथमिकताका साथ सबै स्थानीय निकायमा स्वास्थ्य उपकरण र सामग्रीको समुचित व्यवस्था मिलाउन विशेष आग्रह गर्दछु । महामारीको सबैभन्दा बढी मार श्रमजीवि जनसमुदायलाई पर्ने भएकाले उनीहरुका लागि खाद्यान्न तथा अन्य विशेष सहयोगको व्यवस्था मिलाउन सरकारका साथै निजी क्षेत्रसँग पनि अपील गर्दछु ।

विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई उच्च जोखिममा रहेको देशका रुपमा सचेत गराइरहेको सन्दर्भमा म तीनै तहका सरकार तथा पार्टीका सबै तहका नेता, कार्यकर्ता र सदस्यहरुलाई स्वयम्सेवीका रुपमा यस महामारीका विरुद्धको लडाइँमा सावधानीपूर्वक नेतृत्व लिन आग्रह गर्दछु । आधिकारीक सूचना तथा सन्देश प्रवाह गरी नेपाली पत्रकारिता जगतले यस महामारीमा आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्ने मैले विश्वास लिएको छु ।
कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अग्रमोर्चामा खटिनु हुने चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुमा उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दछु । सम्पूर्ण जनसमुदायमा कोभिड–१९ विरुद्धका स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गरी उच्च सतर्कता अपनाउन विशेष अनुरोध समेत गर्दछु ।

१३ बैशाख, २०७८

पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष

CMPrachanda_Press-Statement_Covid-19-078-01-13_

कात्तिक ७, २०८१ बुधबार ११:१९:१८