जनतामा पलाएको आशा सबैका लागि सकारात्मक चुनौति होः अध्यक्ष प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले निर्वाचन पश्चात आफ्नो जीवनमा परिवर्तनको महसुस गर्न पाइन्छ कि भन्ने अपेक्षा जनताको मनमा पलाएको बताउनु भएको छ ।
मंगलबार बबरमहमा निर्माण गरिएको नेपाल राष्ट्रिय कर्मचारी संगठनको केन्द्रीय कार्यालय भवनको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘यो अपेक्षा सबै राजनीतिक नेतृत्व, सचेत नागरिक र राष्ट्रसेवक कर्मचारीहरुका लागि सकारात्मक चुनौती हो ।’ उहाँले युद्धलाई शान्तिमा, शान्ति प्रक्रियालाई राजनीतिक रुपान्तरणको एउटा युगान्तकारी प्रक्रियामा, संविधान निर्माणमा र संविधान कार्यान्वयनमा राष्ट्रलाई एकतावद्ध गर्ने कार्य सम्पन्न भएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘किनकी राष्ट्रको एकतामा नै आँच आउने होकी भन्ने प्रश्नहरु कहिँ कतै थियो । त्यसलाई समाधान गर्दै अहिले एउटा परिस्थिति बनेको हो ।’

उहाँले अहिले देश इतिहासको असाध्यै महत्वपूर्ण मोडमा रहेको बताउँदै भन्नुभयो, ‘धेरै समस्याहरु र अप्ठ्याराहरुसँग जुध्दै संघीय गणतन्त्र नेपालको संविधान निर्माण र त्यसको कार्यान्वयन स्वरुप निर्वाचन गरेका छौं । वाम गठबन्धनप्रति नेपाली जनतामा धेरै ठूलो आशा भरोषा पलाएको छ ।’

नेपाली जनताको आशा र भरोसा अनुसारको काम गरेर अब स्थिरता, विकास, समृद्धि र समुन्नति व्यवहारद्वारा सिद्ध गर्ने अवसर आफूहरुलाई रहेको उहाँको भनाई थियो ।

कात्तिक ८, २०८१ बिहीबार १६:१०:२९