‘जबज, २१ औं शताब्दीको जनवाद र माओवादी जनयुद्धका अनुभवलाई विकसित गरेर लैजाने मान्यताका साथ पार्टी एकता गरिएको हो’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले जनताको बहुदलीय जनवाद, एक्काइसौँ शताब्दीको जनवाद तथा माओवादी जनयुद्धले खेलेको सकारात्मक भूमिकाको मूल्याङ्कन गर्दै अगाडि जानका लागि इतिहासका ती अनुभव, नीति, कार्यक्रमलाई परिमार्जन गरिनुपर्ने बताउनु हुँदै यी विषयलाई विकसित गरेर जानुपर्छ भन्ने मान्यतासाथ पार्टी एकता गरिएको बताउनु भएको छ ।
सहिद रितबहादुर खड्का स्मृति प्रतिष्ठानले आज पार्टी कार्यालय धूम्बाराहीमा आयोजना गरेको स्मृति सभालाई सम्बोधन गर्दै उहाँले एकताका क्रममा गरिएको सहमतिलाई इमान्दारीपूर्वका कार्यान्वयन गर्दै महाधिवेशनसम्म गएर विचार, राजनीति र कार्यनीतिलाई अझ विकसित र परिमार्जन गर्नुपर्ने बताउनुभयो ।

उहाँले पार्टी एकताका बारेमा गरिएको सैद्धान्तिक, राजनीतिक प्रतिबद्धता र सहमतिप्रति सबै इमान्दार हुनुपर्नेमा जोड दिनुभयो । “पार्टी एकतालाई सुदृढ गर्ने र बाँकी रहेका कामलाई टुङ्ग्याउने तथा भएका सहमति, समझदारीमा इमान्दारिसाथ उभिनुपर्छ”, अध्यक्ष प्रचण्डले भन्नुभयो, “स्पष्ट मान्यता र सिद्धान्तअनुसार पार्टी एकता गरिएको हो । नेपाली जनताका अगाडि गरिएका बाचा कबोल हामी कसैले पनि बिर्सन हुँदैन । यसबाट कसैले दायाँबायाँ गर्न खोज्यो भने त्यो नेपाल राष्ट्र र नेपाली जनताप्रति घात हुनेछ ।”

माक्र्सवादको निर्देशन र पथप्रदर्शनमा समाजवादको लक्ष्य प्राप्त गर्ने उद्देश्यले दुई पार्टीबीच एकता भएको उल्लेख गर्दै उहाँले ठूला पार्टीबीचको एकताका क्रममा केही जटिलता देखिएको भए पनि एकताको मर्मअनुुसार अन्तिम रुप दिइने बताउनुभयो ।

“दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता गरेर ठूलो ऐतिहासिक र आसाधारण कामको शुरुआत गरिएको छ, सिद्धान्तहीन ढङ्गबाट पार्टी एकता गरिएको होइन । पार्टीको यस लक्ष्यलाई नबुझेर कतिपयलाई ‘अलमल’ हुनसक्छ” अध्यक्ष प्रचण्डले भन्नुभयो, “पार्टीले सामूहिक ढङ्गले राजनीतिक प्रतिवेदन तयार पार्दा हिजोका दुबै धारका वरिष्ठ नेताको सर्वसम्मतिमा दुबै पार्टीका उच्च निकायबाट पारित गरेर आगामी बाटो टुङ्ग्याइएको हो ।”

पार्टीको राजनीतिक प्रतिवेदनमा नेपाली जनताको परिवर्तनको चाहना पूरा गर्न तत्कालीन अवस्थामा दुई पार्टीले खेलेको भूमिकालाई सकारात्मक ढङ्गबाट मूल्याङ्कन गरिएको उहाँको भनाइ थियो ।
शहीदका बलिदान, लाखौँ श्रमजीवी जनताले गरेको योगदान सबैलाई सम्मानित गर्दै स्थापित गर्न र बलिदानको आलोकमा अगाडि जानु नै सही क्रान्तिकारी बाटो भएको उहाँले बताउनुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो, “अहिले निराश हुनुपर्ने स्थिति छैन, शहीदको सपना पूरा गर्न सङ्कल्प गर्दै आफूलाई उद्देश्यबाट विचलित नहुने दृढता गर्नुपर्छ ।”

गतिशील, सिर्जनशील र बहुआयामिक व्यक्तित्वका रुपमा उदाएका खड्का वामपन्थी विचार र नेतृत्वको पक्षमा अगाध आस्था र विश्वास राख्ने व्यक्तिका रुपमा आफूले पाएको स्मरण गर्नुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो, “पार्टीको विचार र नेतृत्वको रक्षाबिना आन्दोलनले सकारत्मक परिणाम निकाल्न नसक्ने खड्काको निष्कर्ष थियो ।”

कात्तिक ९, २०८१ शुक्रबार ६:३:७