डढेलो नियन्त्रणका लागि तात्कालिन योजना बनाउन अध्यक्ष प्रचण्डको सरकारलाई आग्रह

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पमकल दाहाल ‘प्रचण्ड’ ले सुख्खायामसँगै देशका विभिन्न भागहरुमा हुने गरेका आगलागी र डढेलो नियन्त्रणका लागि तात्कालिन र दीर्घकालिन योजना बनाउन सरकारलाई आग्रह गर्नुभएको छ ।
अध्यक्ष प्रचण्डले बाँके जिल्लाको नरैनापुर गाउँपालिका वडा न–४ खोदवामा शनिवार भीषण आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै यस्तो बताउनुभएको हो ।

उहाँले आइतवार एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, ‘सुख्खायामसँगै नैरनापुर जस्ता देशका विभिन्न भागहरुमा आगलागी र डढेलो लाग्ने गरेको छ । आगलागी र डढेलो नियन्त्रणका लागि तात्कालिन र दीर्घकालिन योजना सहित आवश्यक कदम चाल्न तीनवटै तहका (स्थानीय, प्रदेश र केन्द्र) सरकार सहित सम्बन्धित सबैमा आग्रह गर्दछु ।’


उहाँले विज्ञप्तिमा नैरनापुरका बासिन्दाको मुख्य समस्या गरीबी र विपन्नता भएको भन्दै घनाबस्ती र फुसका छाना भएका असुरक्षित आवासका कारण बस्तीहरु बर्सेनी आगलागीको चपेटामा पर्ने गरेको बताउनुभएको छ । उहाँले ती बस्तीलाई सुरक्षित गर्ने दीर्घकालिन समाधानका लागि राज्यको विशेष ध्यान जान जरुरी भएको पनि बताउनुभयो ।


अध्यक्ष प्रचण्डद्वारा जारी विज्ञप्तिको पूर्णपाठः–

प्रेस विज्ञप्ति
बाँके जिल्लाको नरैनापुर गाउँपालिका वडा नं. ४, खोदवामा शनिवार भीषण आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दछु । देशकै पिछडिएको गाउँपालिकाका रुपमा सूचीकृत नरैनापुर गाउँपालिका–४ खोदवामा मात्रै ११५ घरधुरी जलेर नष्ट भएका छन् । यो संख्या प्रारम्भिक अनुमान भएकाले अझै बढ्ने सम्भावना छ । उक्त आगलागीबाट घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

यस गाउँपालिकाका विभिन्न वडाहरुमा विगत एक महिनामा ठूलठूला आगलागीका घटनाहरु भएका छन् । नैरनापुरका बासिन्दाको मुख्य समस्या गरीबी र विपन्नता हो । घनाबस्ती र फुसका छाना भएका असुरक्षित आवासका कारण यहाँका बस्तीहरु बर्सेनी आगलागीको चपेटामा पर्ने गरेका छन् । यी बस्तीलाई सुरक्षित गर्ने दीर्घकालिन समाधानका लागि राज्यको विशेष ध्यान जान जरुरी छ ।
आगलागीबाट पीडितहरुको तत्काल उद्दार, राहत र पुनर्वास तथा घाइतेहरुको निःशुल्क स्वास्थ्योपचारको लागि म सरकारसँग विशेष आग्रह गर्दछु ।

साथै सुख्खायामसँगै नैरनापुर जस्ता देशका विभिन्न भागहरुमा आगलागी र डढेलो लाग्ने गरेको छ । आगलागी र डढेलो नियन्त्रणका लागि तात्कालिन र दीर्घकालिन योजना सहित आवश्यक कदम चाल्न तीनवटै तहका (स्थानीय, प्रदेश र केन्द्र) सरकार सहित सम्बन्धित सबैमा आग्रह गर्दछु ।

२२ चैत्र, २०७७
……………………………
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष

कात्तिक ६, २०८१ बुधबार २:४५:२९