तराई-मधेसको विकासमा पहाडको समृद्धि जोडिएको छः अध्यक्ष प्रचण्ड

जनकपुर । नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) का अध्यक्ष प्रचण्डले महान शहीद रामवृक्ष यादव बहुआयामिक प्रतिभा भएको बताउनु भएको छ ।

महान जनयुद्धको तयारीकै क्रममा प्रतिक्रियावादीहरूबाट निर्मामतापूर्वक हत्या गरिनु भएका महान शहीद क. रामवृक्ष यादव ‘मास्टर साहेब’को २५औ‌ं स्मृति दिवसको अवसरमा धनुषाको बरमझियामा आयोजित विशाल स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनु भएको हो ।

कार्यक्रममा बोल्दै उहाँले, “शहीद रामवृक्ष यादव बहुआयामिक प्रतिभा हुनुहुन्थ्यो । उहाँ राजनैतिक नेता मात्र नभएर सामाजिक अभियन्ता पनि हुनुहुन्थ्यो । उहाँ गीतकार पनि हुनुहुन्थयो र आफै गाउनु पनि हुन्थ्यो ।”

अध्यक्ष प्रचण्डले कार्यक्रमलाई सम्बोधन गर्दै तराई-मधेसको विकासमा पहाडको पनि समृद्धि जोडिएको बताउनु भयो । उहाँले समृद्धि र विकासको प्याकेजसहित प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आफू छिट्टै तराई-मधेसमा आउने आश्वासन पनि दिनु भयो ।

मधेसको समस्याबारे प्रधानमन्त्रीसँग छलफल भएको बताउँदै अध्यक्ष प्रचण्डले बाढीको क्षति न्यूनीकरण, सुक्दै गएको जलाधार, आगलागी, डुबानको समस्या हटाउन ‘मास्टर प्लान’ आवश्यक रहेको बताउनुभयो ।

“यी सबै समस्याको दीर्घकालीन समाधान हुनुपर्छ । चुरेको संरक्षणको मास्टर प्लान नगरेसम्म तराईलाई जोगाउन सकिन्न,” अध्यक्ष प्रचण्डले भन्नुभयो, “जनता आवास, जनताको तटबन्ध, रेलमार्ग, हुलाकी मार्ग, फास्ट ट्र्याक, निजगढ अन्तर्राष्ट्रिय विमानस्थललगायतको परियोजनाले मधेस-तराईले विकासमा फड्को मार्छ ।”

हामी दुवै अध्यक्ष विशेष प्याकेज लिएर तराई-मधेसमा आउँदै छौं । तराई-मधेसको समग्र विकासको खाका लिएर हामी छिट्टै आउँदैछौं ।’

जनयुद्धको पहिलो तालिम धनुषामै लिएको दाबी गर्दै अध्यक्ष प्रचण्डले तराई-मधेससँग आफ्नो लभ परेको प्रसंग कोट्याउँदै भन्नुभयो, ‘दोस्रो संविधानसभामा सिराहाबाट चुनाव जितेँ । प्रधानमन्त्री पनि बनेँ । त्यसैले मधेसको विकास र समृद्धि हाम्रो प्राथमिकतामा छ ।’ उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो मधेससँगको लभ कायमै रहेको र अब विकासको गिफ्ट लिएर भेट्न आउने वाचा पनि गर्नु भयो ।

अध्यक्ष प्रचण्डले तराई-मधेसमा विभिन्न आन्दोलनमा १३०० भन्दा धेरैले जीवन आहुति दिएको र तराई-मधेसका जनताले त्याग र बलिदानअनुसार प्रतिफल पाए/नपाएको कुरा महत्त्वपूर्ण विषय भएको बताउँदै उहाँले प्रदेश नं. २ को सरकारलाई सचेत गराउनुभयो । ‘प्रदेश २ मा भ्रष्टाचार बढ्यो, सुशासन छैन । जनताले झन दुःख पायो भनेर मैले सुनेको छु,’ प्रचण्डले भन्नुभयो ।

कात्तिक ७, २०८१ बुधबार २०:२२:६