तुलाधरको असामयिक निधनले राष्ट्रलाई ठूलो क्षतिः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले आज अपरान्ह दिवंगत हुनुभएका मानवअधिकारकर्मी एवम् नागरिक आन्दोलनका अगुवा पद्यरत्न तुलाधरप्रति नर्भिक अस्पतालमा पुगी श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । अध्यक्षले उपचारमा सम्लग्न चिकित्सकहरुसँग उहाँको पछिल्लो स्वास्थ्यस्थितिको बारेमा जिज्ञासा राख्नुभएको थियो ।
उपचारमा सम्लग्न चिकित्सकहरुले अस्पतालमा ल्याइपुर्याउँदा उहाँ अचेत भइसक्नुभएको अध्यक्ष प्रचण्डलाई जानकारी गराउनुभएको थियो ।

अध्यक्ष प्रचण्डले सञ्चारकर्मीहरुसँग कुरा गर्दै तुलाधरको असामयिक निधनले राष्ट्रलाई ठूलो क्षति भएको बताउनु भयो । उहाँ जनआन्दोलन र सांस्कृतिक आन्दोलनको संवर्धनको क्षेत्रमा ऐतिहासिक भूमिका खेल्नुहुने पात्र भएको अध्यक्ष प्रचण्डको भनाई थियो ।

अध्यक्षले भन्नुभयो, “उहाँले नेपालको शान्ति प्रक्रियाका लागि वातावरण बनाउन मध्यस्तकर्ताका रुपमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।”

त्यसैगरी अध्यक्षले एक शोक विज्ञप्ती जारी गर्दै पञ्चायत बिरोधी आन्दोलन, लोकतान्त्रिक आन्दोलन हुँदै शान्तिप्रक्रिया र संविधान निर्माणमा तुलाधरले खेल्नुभएको भूमिका सदा स्मरणीय रहेको बताउनुभयो ।

अध्यक्षद्वारा जारी विज्ञप्तीः–

मानवअधिकारकर्मी एवम् नागरिक आन्दोलनका अगुवा पद्यरत्न तुलाधरको आज दिउँसो निधन भएकोमा अत्यन्त मर्माहत भएको छु ।

पञ्चायत बिरोधी आन्दोलन, लोकतान्त्रिक आन्दोलन हुँदै शान्तिप्रक्रिया र संविधान निर्माणमा उहाँले खेल्नुभएको भूमिका सदा स्मरणीय छ । पहिचान र संघीयताका पक्षधर वाम बुद्धिजीवि दिवंगत तुलाधरप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजन र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।

कात्तिक ९, २०८१ शुक्रबार १६:१२:१७