दलितको हितमा सरकार प्रतिवद्ध, ‘प्रधानमन्त्री’

माघ १८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार दलित समुदायका समस्या समाधानप्रति कटिवद्ध भएर लागेको बताउनुभएको छ ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय दलित मुक्ति मोर्चाका प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । उहाँले दलित आयोगलाई संबैधानिक मान्यता प्राप्त हुनु ठूलो उपलब्धी भएको बताउँदै दलितहरुको विकास र सम्वृद्धिका पक्षमा कार्य गर्दै आएको उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समितिलाई अझ सक्रिय पार्ने बताउनुभयो ।
प्रधानमन्त्रीले लक्ष्मी परियार र अजित मिजारको घटनामा संलग्नहरुमाथि कारवाहीका लागि छानविन प्रक्रिया अघि बढेको जानकारी दिँदै पीडितका परिवारलाई उचित क्षतिपूर्ति दिइने बताउनुभयो ।
तिलक परिवारको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले लक्ष्मी परियार र अजित मिजारका हत्याराहरुमाथि कारवाही, पीडितलाई क्षतिपूर्ति, दलित विकास समिति खारेज गर्न खोजिएकोमा आपत्ति जनाउँदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।

कात्तिक ६, २०८१ बुधबार ३:३०:१९