देश भित्र र बाहिर माओवादी एकताको सन्देश सकारात्मकः अध्यक्ष प्रचण्ड

काठमाडौं, १९ जेठ । अध्यक्ष प्रचण्डले देश भित्र र बाहिर माओवादी पार्टीहरुको एकताको सकारात्मक सन्देश गएको बताउनु भएको छ । आज दिउँसो पार्टी केन्द्रीय कार्यालय, पेरिस डाँडा, कोटेश्वरमा आयोजित क्रान्तिकारी पत्रकारहरुको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । अध्यक्षले भन्नुभयो, ‘विभाजनबाट देशको समग्र राजनीतिमा, क्रान्तिकारी कार्यकर्ताहरुमा र आम जनतामा पनि जे जस्तो नकारात्मक प्रभाव रह्यो । त्यो स्थितिसम्म आउन तपाई हामी सबैको मिहेनतले हो । ’ उहाँले अगाडि भन्नुभयो, ‘सबै तितामिठा अनुभवको आफैं आफैं समिक्षा गर्दै एकता अनिवार्य छ भन्ने निश्कर्षमा हामी पुग्यौं र नेकपा –माओवादी केन्द्र बन्यो ।’

उहाँले पत्रकारहरुको भूमिका अग्रणी रहेको उल्लेख गर्दै सबै जवस मोर्चाहरुमा पत्रकारहरुको एकता भेला पहिलो भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामीले नेपाली क्रान्तिलाई मात्रै नयाँ उचाईमा उठाउने होइन विश्व क्रान्तिलाई पनि नयाँ सन्देश नेपालबाट दिनुछ भनेर हामीले संकल्प सहित एकता गरेका छौं । एकता पछि भावनाको क्षेत्रमा र विचार राजनीतिको क्षेत्रमा हामी धेरै मजबुत धरातलमा खडा छौं । हामीलाई साना हुरी बतासले हल्लाउने स्थिति छैन । हामीले माओवादी पार्टीहरुलाई मात्र एकतावद्ध बनाउने होइन,  मधेश, हिमाल, पाहाड कसरी एकतावद्ध बनाउने र राष्ट्रिय धारमा ल्याउने भन्नेमा नयाँ पहल लिँदैछौं । वार्ता गरेर यो समस्याको समाधान गर्ने माओवादी केन्द्र नै हो । अहिले सरकारबाट पनि हाम्रै कारणले चिट्ठी लेख्ने, बोलाउने काम भईरहेको छ भने हामी आफैं पनि उहाँहरुसँग वार्ता गरेर राष्ट्रिय रुपमा समस्या समाधान गर्ने र देशलाई विभाजन र विखण्डन गर्ने प्रवृतिलाई परास्त गर्ने, नयाँ आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्ने र राष्ट्रिय स्वाधिनता समग्रमा अगाडि बढाउने ठाउँमा छौं । ’
क्रान्तिकारी पत्रकारहरुको एकता राष्ट्रिय भेला ०७३–०२–१९

कात्तिक ७, २०८१ बुधबार १७:३:५०