देशलाई समृद्ध बनाउन अभियान नै चलाउन जरुरी छः अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले देशलाई समृद्ध बनाउन सामान्य भन्दा अभियानात्मक रुपले अघि बढ्नु पर्ने बताउनु भएको छ । चितवन पारस नगरस्थित श्री सहिद स्मृति माबिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

अध्यक्षले भन्नुभयो, “अहिले बसिरहेको हाम्रो पार्टीको स्थायी समिति बैठकमा दुई महिना तुरुन्तै अभियान चलाउने र देशभरी जनतालाई र पार्टीका नेता तथा कार्यकर्तालाई साथै अन्य राजनीतिक दलहरुलाई पनि समृद्धिको यात्रामा सँगसँगै सहभागी गराउने तिर योजना बनाउँदै छौं ।”

उहाँले केही समयदेखि सामुदायिक विद्यालय खस्किँदै जाने, निजी र व्यापारिक विद्यालयहरु फस्टाउँदै जाने रोग लागेकोमा दुईचार वर्ष यता फेरि सामुदायिक विद्यालय पनि प्रतिष्पर्धामा आफूलाई खरो उर्ताने प्रक्रियामा आएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, “अहिले हाम्रो पार्टी र सरकारले निर्वाचनको बेला घोषणा पत्रमा भने बमोजिम सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्ने कुरा र विद्यालयको शिक्षा बेरोजगार पैदा गर्ने शिक्षा नहोस् भनेर प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकता दिँदै जाने प्रक्रियामा रहेका छौं ।”

कात्तिक ७, २०८१ बुधबार १५:२१:४५