धनी र गरीब बीचको खाडल घटाउने मोडल तय गरेका छौँ : प्रचण्ड

काठमाडौं, २२ चैत । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा आर्थिक समृद्धिको लागि धनी र गरीब बीचको खाडल घटाउने गरी विकासको मोडल तय गरिएको बताउनुभएको छ ।

दोश्रो सहकारी महासम्मेलनको सम्मेलनलाई सोल्टी होटलमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहकार्यमा समाजवादको आधार निर्माण हुने गरी आर्थिक विकासको मोडल तय गरेको बताउनुभयो ।

‘अब राज्य कतातिर जाने हो, हाम्रो विकासको बाटो कस्तो हुने हो ? भनेर हामीले राजनीतिक रुपले संविधानतः स्पष्ट पारेका छौँ, अब हामी जाने बाटो समाजवाद हो,’ उहाँले भन्नुभयो – ‘हामीले समाजवादउन्मूख राज्य र तीनखम्बे अर्थनीतिअन्तर्गत आजको विश्व परिस्थितिअनुकूल सार्वजनिक, नीजि र सहकारी क्षेत्रको सहकार्यमा समाजवादको आधार निर्माण गर्छौं । धनी र गरीब बीचको खाडल घटाउँछौं ।’

अध्यक्ष प्रचण्डले सहकारी आन्दोलन राज्यलाई एकताको सुत्रमा बाँध्ने आन्दोलन पनि भएको बताउनुभयो । ‘सहकारी आन्दोलनमा विभेद हुँदैन, समाजका विपन्न वर्ग समुदायलाई सम्पन्न गर्ने बाटोको खोजी गर्छ, यसर्थमा यो सहकारी आन्दोलन एकताको सुत्रमा बाँध्ने आन्दोलन पनि हो’ उहाँले भन्नुभयो – ‘जति सहकारी आन्दोलनलाई बलियो बनाउँछौ, त्यति राष्ट्रिय एकता बलियो हुन्छ, सामाजिक न्याय स्थापित हुन्छ, त्यति नै समृद्ध र सभ्य समाजको निर्माण गर्न सकिन्छ ।’

अध्यक्ष प्रचण्डले सिंगै देशलाई धनी बनाउने, सबै जनतालाई समृद्ध, शिक्षित र सभ्य बनाउने अभियान सहकारी अभियान भएकाले राज्यको तर्फबाट यसमा पूरै सहयोग हुनुपर्ने बताउनुभयो । ‘राजनीतिक नेतृत्वको तर्फबाट पूरै सहयोग हुनुपर्दछ,’ उहाँले भन्नुभयो – ‘यो आन्दोललाई सामाजिक न्यायको आन्दोलन, सभ्य समाज निर्माणको आन्दोलन, आर्थिक अभिवृद्धिको मौलिक आन्दोलन, हाम्रो संस्कृति र परम्परालाई विकसित गर्ने आन्दोलनका रुपमा लिनुपर्दछ ।’

अध्यक्ष प्रचण्डले नेपाल सुशासन स्थिरता र विकासको महाअभियानको संघारमा रहेकाले अब विकास नयाँ मोडलमा हुने बताउनु भयो । ‘यसलाई राज्यले, राजनीतिक नेतृत्वले ठीक ढंगले आत्मसात गरेर संकल्पको साथ अगाडि जान सक्दा नेपाललाई केही वर्षभित्रमा नै विकासको एउटा नयाँ मोडलसहित अगाडि लैजान सकिन्छ’ उहाँले भन्नुभयो ।

कात्तिक ६, २०८१ बुधबार ४:३:२१