नयाँ शक्ति नेपाल र नेकपा माओवादी केन्द्रमा ध्रुवीकृत

भदौ ६, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी धाराका सम्पूर्ण क्रान्तिकारी घटकहरु एक भए कुनै पनि शक्तिले माओवादीलाई हराउन नसक्ने बताउनु भएको छ ।
देवेन्द्र पौडेल नेतृत्वको नयाँ शक्ति, नेपाल ध्रुवीकरण अभियान र गगन खड्का ‘जीवन’ नेतृत्वको नेकपाका नेताहरुसँगको ध्रुवीकरण सभामा बोल्दै प्रचण्डले माओवादी धाराको एकतासामू कुनै पनि शक्ति नटिक्ने बताउनु भएको हो । नेताहरुलाई माओवादी केन्द्रमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘एजेण्डा माओवादीसँगै छन्, यत्रो परिवर्तन माओवादीले नै ल्यायो, नेतृत्व पनि हामीसँगै छ । तर, चुनावमा भोट आउँदैन । यसको कारण खोज्न अन्त जानु पर्दैन, हामी माओवादी विभाजित भएकै कारण प्रतिक्रियावादीहरुले फाइदा लिए । माओवादी शक्तिहरु एक होऔं, कुनै पनि शक्तिले माओवादीलाई हराउन सक्दैन ।’
वैद्य, विप्लव र बाबुरामहरु पनि माओवादी केन्द्रमै फर्कनुको बिकल्प नभएको प्रचण्डले बताउनु भयो । उहाँले भन्नुभयो, ‘बाबुरामजीले केजरीवाल बनेर देखाउँछु भनेर जानु भो, विप्लवजी आफै प्रचण्ड बन्ने सपना देख्नुभो, वैद्यजी क्रान्ति गर्छु भनेर जानुभो । तर, उहाँहरु सबैको हालत हामीले देखिसकेका छौं । कसैले चाहेर प्रचण्ड हुने कुरा होइन । विज्ञानविरुद्ध जो जान्छ, त्यो सकिन्छ । त्यसैले वैद्यजी, बाबुरामजी र विप्लवजी पनि माओवादी केन्द्रमा फर्कनुको कुनै बिकलप छैन ।’
ध्रुवीकरण कार्यक्रममा नयाँ शक्ति, ध्रुवीकरण अभियानका संयोजक देवेन्द्र पौडेलले क्रान्तिकारी शक्तिहरु विभाजित हुँदा प्रतिक्रियावादी शक्तिले फाइदा लिएकाले परिवर्तन चाहने सबै शक्तिहरुको एकता आवश्यक रहेको बताउनु भयो । नेता पौडेलले भन्नुभयो, ‘हामी क्रान्तिकारी, परिवर्तनकारी शक्तिहरु विभाजित भयौं, त्यसको प्रतिक्रियावादीहरुले फाइदा उठाए । हामीले लडेर ल्याएको परिवर्तन उल्टाउने खतरा बढ्यो, हामीले बाबुरामजीलाई पनि एकतामा ल्याउने अन्तिमसम्म कोशिस गर्याैं । तर, उहाँ आउनु भएन, अनि हामी आयौं । बाबुरामजी लगायतका सबै क्रान्तिकारी र परिवर्तनकारी शक्तिहरु एक हुनुको कुनै बिकल्प छैन ।’
कार्यक्रममा बोल्दै नयाँ शक्तिका नेताहरु परशुराम तामाङ, पासाङ शेर्पाले वर्गीय र जातीय मुद्धालाई वैज्ञानिक ढंगले समात्ने पार्टी माओवादी भएको र परिवर्तनको रक्षाका लागि सम्पूर्ण परिवर्तनकारी शक्तिहरु एक हुनुपर्ने आवश्यकता महशुस गरी आफूहरु माओवादी केन्द्रमा ध्रुवीकृत भएको बताउनु भयो । त्यस्तै विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गर्नुभएका नेता गगन खड्का ‘जीवन’ले विप्लव माओवादीले एकीकृत जनक्रान्तिका नाममा आर्थिक आतंक मच्चाएको र क्रान्तिको कुनै पनि सोच नभएकाले आफूहरु माओवादी केन्द्रमा आएको बताउनु भयो ।
कार्यक्रममा नयाँ शक्ति नेपालका १६ जना केन्द्रीय सदस्य र २७० भन्दा बढी केन्द्रीय परिषद सदस्य माओवादी केन्द्रमा ध्रुवीकृत भएका छन् । त्यसैगरी गगन खड्का ‘जीवन’को नेतृत्वमा विप्लव माओवादीका ३५० जना नेता–कार्यकर्ता माओवादी केन्द्रमा ध्रुवीकृत भएका छन् । कार्यक्रममा नेपाली कांग्रेस लगायतका पार्टी परित्याग गरी दर्जनौं युवाहरु समेत माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
ध्रुवीकरणपछि एकतालाई तल्लो तहसम्म पुर्याउन केन्द्र र प्रदेश स्तरमा एकता कार्यदल गठन गरिएको छ । कार्यदलले ध्रुवीकरणमा आएका सबै नेता–कार्यकर्ताहरुको संगठनात्मक व्यवस्थापन गर्नेछ । कार्यक्रममा माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, वर्षामान पुन, पम्फा भुसाल, शक्ति बस्नेत लगायतका नेताहरु उपस्थित हुनुहुन्थ्यो ।

कात्तिक १०, २०८१ शनिबार ६:९:४६