निर्वाचन कसैले रोक्न सक्दैन, ‘प्रधानमन्त्री प्रचण्ड’

फाल्गुण ४ पाँचथर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब कुनै शक्ति चाहेर पनि निर्वाचन रोक्न नसक्ने बताउनु भएको छ । बुधबार दिउँसो पाँचथरको फिदिममा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा बताउनु भएको हो ।
सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘सरकार संविधान संशोधन गरेर असन्तुष्ट मधेशी, थारु, जनजातिका माग सम्बोधन गरेर देशलाई निर्वाचनको दिशामा लैजान चाहन्छ । पछिल्लो समय राजनीतिक सहमतिको वातावरण बन्दैछ । आज मात्र प्रमूख तीन दलका शीर्ष नेताबीच निर्वाचनमा जाने समझदारी भएको छ । छिटै सरकारले स्थानीय तहको निर्वाचन गर्छ, तपाईहरु सबैले स्थानीय तहको निर्वाचनको तयारीमा जुट्नुहोस्, कुनै पनि शक्तिले चाहेर निर्वाचन रोक्न सक्दैन, निर्वाचन रोकिँदैन ।’
निर्वाचनले मात्रै जनताको अधिकार व्यवहारिक रुपमा कार्यान्वयन हुने प्रधानमन्त्रीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘अहिलेको स्थानीय तह स्थानीय निकायजस्तो होइन । अहिलेको स्थानीय तहमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको व्यवस्था गरिएको छ । अहिलेका गाउँपालिका र नगरपालिका धेरै नै शक्तिशाली छन् । लालपूर्जा, नागरिकता, पासपोर्टजस्ता महत्वपूर्ण काम अब स्थानीय तहबाटै हुनेछन् । यो सामान्य कुरा पक्कै होइन । तसर्थ, जनताका अधिकार संस्थागत गर्न निर्वाचन गर्नैपर्छ । स्थानीय तहको निर्वाचन गरेर शासन र अधिकार जनताको घरदैलोमा लैजानैपर्छ ।’
सरकार संविधान कार्यान्वयन र आर्थिक समृद्धिको संकल्पमा रहेकोमा जोड दिँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘सरकारको मूख्य ध्यान संविधान कार्यान्वयन र आर्थिक समृद्धिमा छ । मैले यस दिशामा लगातार प्रयत्न गर्दै आएको छु । उर्जाशील देखेर नै जनार्दनजीलाई उर्जा मन्त्रालयको जिम्मा दिएँ । विद्युत प्राधिकरणमा कुलमानलाई जिम्मा दिएँ । सही मान्छेलाई सही ठाउँमा जिम्मा दिए परिणाम आउँदो रहेछ । यो सरकारले देशको पक्षमा, विकासको पक्षमा, विदेशमा भएका नेपालीको पक्षमा थुप्रै काम गरेको छ । सरकारले समृद्धिको सुरुवात गरेको छ । तर, सरकारसामू अरु अप्ठ्यारोहरु छन् । हामीले राम्रो काम गरेको देखेर केही शक्तिहरु आत्तिएका पनि छन् । तर, सरकार र माओवादी संविधान कार्यान्वयन र आर्थिक समृद्धिमा अगाडि बढ्छ, कसैले रोकेर रोकिँदैन ।’
जनसभामा उर्जामन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले संविधान कार्यान्वयनका लागि निर्वाचन अनिवार्य भएको बताउनु भयो । शर्माले भन्नुभयो, ‘नेपालको संविधान प्रगतिशील छ, त्यसमा जनताका धेरै हकहरु समावेश छन् । अब त्यसलाई कार्यान्वयन गर्न देशमा निर्वाचनको खाँचो छ । संविधानले स्थानीय तहलाई धेरै अधिकारको व्यवस्था गरेको छ । अब निर्वाचनले स्थानीय तहमा विकास र समृद्धिका लागि प्रतिस्पर्धा गर्ने वातावरण बन्ने छ ।’
मन्त्री शर्माले भन्नुभयो, ‘जनता विकासका भोका छन्, संविधानले समाजवादउन्मूख राज्यको परिकल्पना गरेको छ । त्यसको व्यवहारिक कार्यान्वयनका लागि पनि निर्वाचन हुनैपर्छ । सम्माननीय प्रधानमन्त्रीज्यूको अभिभावकत्वमा हामीले उज्यालो नेपाल अभियान चलाएका छौं । यो देशका समृद्धि, विकास र रोजगारी सिर्जना गर्ने अभियान हो । हामीले प्रतिपरिवार १ लाखको लगानी सुनिश्चित गरेर हाम्रा आयोजना हाम्रै लगानीमा सम्पन्न गर्दैछौं ।’

कात्तिक ८, २०८१ बिहीबार ८:१:४७