निर्वाचन सार्ने प्रयास मान्य हुँदैन, ‘प्रचण्ड–ओली’ (विज्ञप्तिको पूर्णपाठ)

कार्तिक ९, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) का अध्यक्षद्वयले निर्वाचन सार्ने प्रयास आफूहरुका लागि मान्य हुन नसक्ने प्रष्ट पार्नुभएको छ । बिहीबार दिउँसो बानेश्वरमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन सार्ने प्रयास आफूहरुका लागि मान्य नहुने प्रष्ट पार्नुभएको हो ।
प्रदेश र संघको प्रत्यक्षतर्फको मतपत्र अलग अलग बनाउनेबारे भएको प्रगति पेश गर्न सर्वोच्च अदालतले निर्वाचन आयोगलाई दिएको आदेशपछि उत्पन्न परिस्थितिको जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘सर्वोच्चको फैसलापछि निर्वाचन सर्ने वा रोकिने हो कि भन्ने आशंका बढेको छ । एउटै सिटमा भए पनि निर्वाचन आयोगले प्रदेश र संघको अलग अलग मतपत्र नै बनाउने हो । यसलाई आधार बनाएर निर्वाचन रोक्न खोजिन्छ भने त्यो हाम्रा लागि मान्य हुन सक्दैन । निर्वाचन प्रयोजनका निम्ति संसद स्थगित भएको हो । हेक्का रहोस्, निर्वाचन रोकियो भने संसदको म्याद माघ ७ गतेसम्म छ ।’
पत्रकार सम्मेलनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन रोक्ने प्रयास भए त्यो आफूहरुलाई मान्य नहुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘सर्वोच्चको फैसलापछि हामीमा निर्वाचन सर्ने वा रोकिने हो कि भन्ने चिसो पसेको छ । निर्वाचन सार्नुपर्ने वा रोक्नुपर्ने कुनै संवैधानिक, कानूनी, नैतिक र व्यवहारिक कारण छैन । तोकिएकै समयमा निर्वाचन हुनुपर्छ, त्यसबाट कोही पनि दायाँबायाँ हुनु हुँदैन ।’
संयुक्त पत्रकार सम्मेलनमा माओवादी केन्द्र र एमालेका शीर्ष नेताहरु उपस्थिति हुनुहुन्थ्यो । ने.क.पा. (माओवादी केन्द्र) र ने.क.पा. (एमाले) द्वारा संयुक्त रुपमा जारी प्रेस विज्ञप्तिको पूर्ण पाठ यस प्रकार छ ।

प्रेस वक्तव्य
१) नेपाली जनताको लामो बलिदानीपूर्ण संघर्ष र प्रतीक्षा पछि संविधानसभाबाट संविधान जारी भै स्थानीय तहको निर्वाचन समेत सम्पन्न भएर आगामी मंसिर १० र २१ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रक्रिया अगाडि बढिसकेको छ । नेपालको संविधानको कार्यान्वयन, संक्रमणकालको अन्त्य, राजनीतिक स्थायित्व, दिगो शान्ति र समृद्धिको लागि यो निर्वाचन अत्यन्तै महत्वपूर्ण छ । निर्वाचनलाई घोषित समयमा शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नु नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दलहरु तथा नेपाली जनताको साझा कर्तब्य हो । निर्वाचन प्रक्रिया तीब्र रुपमा अगाडि बढ्दै उम्मेदवारहरु प्रचार प्रसारमा जुटिरहेको स्थितिमा निर्वाचनका सम्बन्धमा कहीं कतैबाट पनि कुनैपनि किसिमको भ्रम, अन्योल र अवरोध सिर्जना हुनुहुँदैन । त्यसो हुनु वा गर्नुभनेको लोकतान्त्रिक अभ्यासलाई अवरुद्ध पार्दै लोकतान्त्रिक प्रणालीलाई कमजोर पार्ने र नेपाली जनताको अधिकारलाई कुण्ठित गर्ने कार्य हुनजान्छ । अतः यसप्रति सचेत रहन हामी सम्बद्ध सबैलाई आग्रह गर्दछौं।

२) मुलुक निर्वाचनमा अग्रसर भइसकेको यस अवस्थामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रयोग हुने मतपत्रका सम्बन्धमा अनावश्यक वहस विवादमा नअल्झी घोषित समयमा निर्वाचन सम्पन्न गर्ने कार्यमा योगदान पु¥याउन सम्बद्ध सबैसंग हामी हार्दिक आग्रह गर्दछौं । यस प्रसंगमा हिजो कार्तिक ८ गते सर्वोच्च अदालतबाट जारी भएको आदेशप्रति हाम्रौ ध्यानाकर्षण भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने र समानुपातिक प्रणालीका उम्मेदवारका लागि अलग–अलग मतपत्रको ढाँचा तयार गरी मतपत्र छपाईको कार्य अगाडि बढाइसकेको छ । मतपत्रको उक्त ढाँचाबाट कुनैपनि नागरिक या मतदाताको कुनै संवैधानिक, कानुनी, मौलिक तथा नागरिक हकको प्रयोगमा वाधा नपुग्ने, मतपत्र मार्फत् मतदाताले आफूले मन पराएको दल या उम्मेदवार छनोट गर्न र तत्सम्बन्धी निजको गोपनीयतामा कुनै व्यवधान नपुग्ने तथ्य स्पष्ट छ।

३) असोज २९ गते समानुपातिक तथा कार्तिक ५ गते पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तरगतका उम्मेदवारहरुको मनोनयन दर्ता भएर उम्मेदवारहरु जनताका बीचमा गइसकेका छन् । नेपालको संविधान अनुसार आगामी माघ ७ गते अगावै निर्वाचनका सम्पूर्ण कामहरु सम्पन्न भई संसद गठन भइसक्नु पर्दछ । आगामी मङ्सिरका लागि तय गरिएको निर्वाचन मौसमका कारणले पनि पर सार्नु संभव र उचित हुँदैन । राजनीतिक दल र सम्बन्धित संस्थाहरु बीचको छलफल पछि तय भएको मंसिरमा हुने निर्वाचनलाई कुनै पनि निहुँमा सार्ने, टार्ने वा बिथोल्ने काम–कुरा लोकतान्त्रिक अभ्यासका विरुद्ध तथा नेपाल र नेपाली जनताको हित विपरीत हुनजान्छ । निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने र जनतामा अन्योल र संशय उत्पन्न हुने कुनैपनि किसिमको काम–कुरा नगर्न हामी सम्बद्ध सबैलाई आग्रह गर्दछौ । नेपालको सार्वभौमसत्ता नोपली जनतामा रहेको र निर्वाचनमा प्रतिकूल प्रभाव र असर पार्ने कुनैपनि प्रकारका काम–कुरा नेपाली जनतालाई सह्य नहुने तर्फ सबैलाई सचेत तुल्याउन चाहन्छौं ।

४) उपर्युक्त कुरा र तथ्यबाट देशको लागि निर्वाचन घोषित समयमा सम्पन्न गर्नु अत्यावश्यक र अत्यन्त महत्वपूर्ण रहेको हुनाले निर्वाचन आयोग लगायत सम्बद्ध सबै निकायहरुलाई निर्वाचनको जारी प्रक्रियालाई बिना कुनै अवरोध, बिना द्विविधा र तीव्रताका साथ अगाडि बढाउँदै सार्वभौम नेपाली जनताका अधिकारको सम्मान रक्षा र सुदृढीकरणमा योगदान पु¥याउन आग्रह गर्दछौं ।
९ कार्तिक २०७४

के. पी. शर्मा ओली
अध्यक्ष, नेकपा (एमाले)
पुष्पकमल दाहाल ’प्रचण्ड’
अध्यक्ष, नेकपा माओवादी (केन्द्र)

कात्तिक ७, २०८१ बुधबार ७:२०:१७