निर्वाचनको तयारी गर्न निर्देशन दिने मन्त्रीपरिषदको निर्णय

माघ २०, काठमाडौं । नेपाल सरकारको मन्त्रीपरिषद बैठकले स्थानीय तहको निर्वाचनको तयारी गर्न निर्वाचन आयोगलाई लिखित निर्देशन दिने निर्णय गरेको छ । बिहीबार अपरान्ह बसेको मन्त्रीपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले २०७४ बैशाख मसान्तदेखि जेठको १० गतेभित्र स्थानीय तहको निर्वाचन गर्ने गरी निर्वाचन आयोगलाई लिखित निर्देशन दिने निर्णय लिएको हो । सरकारले आयोगलाई निर्वाचनको तयारी गर्न निर्देशन दिएसँगै स्थानीय तह निर्वाचनबारे अन्यौलता हटेको सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले बताउनु भयो ।
आजको बैठकले स्थानीय तह पूनर्संरचना आयोगले पेश गरेको प्रतिवेदनबारे सुझाव दिन एक कार्यदल पनि बनाएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेको संयोजकत्वमा गठित कार्यदलमा आपूर्ति मन्त्री दीपक बोहरा र उद्योगमन्त्री नबीन्द्रराज जोशी सदस्य रहनुभएको छ । कार्यदललाई मूख्यतः २ नम्वर प्रदेशको स्थानीय तह निर्धारणबारे सुझाव दिन कार्यदेश दिइएको छ ।
आजको बैठकले चीनको गोञ्जाओको महावाणिज्य दुतमा सहसचिव रबि भट्टराईलाई पठाउने निर्णय गरेको छ । त्यसै गरी बैठकले तनहूँको बालिङ, खरेपानी क्षेत्रभित्रका ८ वटा जङ्गलमा चीडियाखाना निर्माण गर्ने निर्णय पनि गरेको छ । बैठकले शिशिर ढुङ्गानालाई सचिवमा बढुवा गरेको छ भने यमकुमारी खतिवडालाई कामु सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ । त्यसैगरी आजको बैठकले सबै मन्त्रालयहरुमा पूँजीगत खर्च कम र चालु बढी देखिएकोबारे अध्ययन गर्न अनुगमन समिति बनाउने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

कात्तिक ७, २०८१ बुधबार १९:२५:१४