निर्वाचनको बिकल्प नभएको हेडक्वार्टर बैठकको निष्कर्ष

फाल्गुण ५, काठमाडौं । नेकपा (माओवादी केन्द्र) हेडक्र्वाटर बैठक बिहीबार दिउँसो सम्पन्न भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले स्थानीय तहको निर्वाचनको कुनै बिकल्प नभएको निष्कर्ष निकालेको छ ।
हेडक्र्वाटर बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे समीक्षा गरिएको थियो । बैठकले संविधान संशोधन र स्थानीय तहको निर्वाचनबारे सरकारले गरेको गृहकार्य र तयारीलाई सकारात्मक भएको निष्कर्ष निकाल्दै निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको हो ।
बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले सरकारले दलहरुसँग गरेको छलफल, राष्ट्रिय राजनीति र निर्वाचनको तयारीबारे बैठकलाई अवगत गराउनु भएको थियो । बैठकमा हेडक्र्वाटर सदस्यहरुले पार्टीको वस्तुगत अवस्थाबारे रिपोर्टिङ गर्नुभएको थियो ।
बैठकले मन्त्रीपरिषदबाट बनेको स्थानीय तह पूनर्संरचना आयोगको प्रतिवेदन अध्ययन गर्न बनेको कार्यदलको प्रतिवेदन बिहीबार नै बुझ्ने तयारी भएको र फाल्गुण १० गते संसद सुचारु हुने भएकाले प्रतिपक्षी दल र मधेशी मोर्चासँग समेत थप छलफल गरेर निर्वाचनको मिति घोषणा गर्ने निष्कर्ष निकालेको छ ।
बैठकबारे जानकारी दिँदै पार्टी प्रवक्ता पम्फा भुसालले भन्नुभयो, ‘अब स्थानीय तहको निर्वाचनको बिकल्प छैन । राजनीतिलाई अग्रगमनमा लैजानका निम्ति स्थानीय तहको निर्वाचन गरेर संविधान कार्यान्वयनलाई गति दिनुपर्छ । जनसंख्याको घनत्वलाई विचार गरी दुई नम्वर प्रदेशमा स्थानीय तहको संख्या केही बढाएर भए पनि मधेशी मोर्चालाई निर्वाचन ल्याउने र निर्वाचनको मिति घोषणा गर्नेबारे छलफल भयो । अब छिटै स्थानीय तहको निर्वाचनको मिति घोषणा हुन्छ ।’

कात्तिक ८, २०८१ बिहीबार १२:५:४८