निर्वाचनमा जान प्रमूख तीन दल सकारात्मक

पौष १३, काठमाडौं । प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको बैठकमा स्थानीय तहको निर्वाचनका लागि सकारात्मक छलफल भएको छ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बुधवार बिहान प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बसेको बैठकमा निर्वाचनमा जान दलहरु सकारात्मक बनेका हुन् ।
प्रधानमन्त्रीले संसदको अवरोध हटाएर संविधान संशोधनको विषय प्रक्रियाबाटै टुंगो लगाउन प्रमुख प्रतिपक्षलाई आग्रह गर्नुभएको थियो । उहाँले संविधान संशोधन, निर्वाचन, निर्वाचन सम्वन्धी विद्येयक, लोकमानसिंह कार्कीमाथिको महाअभियोग प्रस्ताव एवम् स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन लगायतका विषयमा प्रमुख दलबीच समझदारी बनाएर अघि बढ्न आग्रह गर्नुभएको थियो । बैठकमा प्रधानमन्त्रीले प्रस्तुत गर्नुभएका विषयहरुमाथि गम्भीर र सकारात्मक रुपमा छलफल अघि बढेकाले छिट्टै प्रमुख दलहरुको बैठक बसि सहमति जुटाउने निष्कर्ष निकालिएको छ ।
बैठकमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका बरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, रामचन्द्र पौडेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, पम्फा भुसाल, बिमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह लगायतको उपस्थिति थियो ।

कात्तिक ७, २०८१ बुधबार १९:१३:५८