नेकपाको जोखिम र साहसिक निर्णयले मुलुकमा गणतन्त्र स्थापना भएको होः अध्यक्ष प्रचण्ड

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाको जोखिम र साहसिक निर्णयले अराजक स्थितिको अन्त्यसँगै मुलुकमा गणतन्त्र स्थापना भएको बताउनुभएको छ ।

नेकपाद्वारा आज कास्कीको पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीमा अन्योल पनि नरहेकाले अब मुलुकलाई विकास र समृद्धितर्फ डो-याउन प्रतिबद्ध भएर लाग्नुपर्ने विषयमा जोड दिनुभयो ।

नेकपाका कारण ७० वर्षपछि मुलुकमा राजनीतिक स्थायित्व भएको जनाउँदैै उहाँले भन्नुभयो, ‘नेकपाको जोखिम र साहसिक निर्णयले अराजक स्थितिको अन्त्यसँगै मुलुकमा गणतन्त्र स्थापना भएको छ ।’

नेकपाका उम्मेदवार विद्या भट्टराई एक अध्ययनशील र राष्ट्रिय व्यक्तित्व पनि भएकाले पार्टीले उम्मेदवार बनाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले उहाँलाई विजयी बनाउन आग्रह गर्नुभयो ।
नेकपाकै अग्रसरतामा नै मुलुकमा महिलालाई राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश बनाएको जनाउँदै उहाँले गणतान्त्रिक संविधानमा दलित, मधेशी, आदिवासी जनजातिलगायत सबैको अधिकार सुनिश्चित गरिएको उल्लेख गर्नुभयो ।

पहिलो पटक राष्ट्रियताको विषयमा मुलुक एकजुट भएको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष प्रचण्डले नेपाली भूमिलाई भारतले आफ्नो नक्सामा समावेश गरेको विषयमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लाञ्छित गर्दै झुट बोल्नुभएको र अब नेपाली काँग्रेसले आत्मसमीक्षा गर्नुपर्ने जनाउनुभयो । नेकपा पार्टी र सरकारले राष्ट्रिय एकता, स्वाधीनता र भौगोलिक अखण्डतालाई सुदृढ गर्न लागिएको भन्दै सिमाना विवाद समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी अर्को चुनावी सभालाई सुनसरीको धरानमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अरुको गालीमात्र गर्ने काँग्रेसले आफुु नसुुध्रिए बत्ति बालेर खोज्नुुपर्ने दिन आउने चेतावनी दिनुभयो । अध्यक्षले बलियो विपक्षी हुँदा राष्ट्रलाई हित हुने भन्दै अरुको भन्दा आफ्नो चिन्ता लिन आग्रह गर्नुभयो ।

आफू र अर्का अध्यक्ष ओलीप्रति काँग्रेस नेताले गरेको टिप्पणीप्रति उहाँले भन्नुभयो, ‘देशलाई समुुन्नत होस् भन्ने पक्षमा काँग्रेस छैन । उहाँहरु राम्रो काम गर्नुको सट्टा अरुलाई गाली गर्दै समय खर्च गर्दै हुनुहुन्छ ।’

उहाँले अब पार्टीमा एकजना अध्यक्षले ५ वर्ष ढुक्क सरकार चलाउने र एकजनाले पार्टी सुदृढिकरणमा लाग्ने प्रस्ताव आफूले गरेको भन्दै काँग्रेसलाई दुुइपार्टीको एकताबाट नआत्तिन र जनताको पक्षमा काम गर्न आग्रह गर्नुभयो ।

कात्तिक ८, २०८१ शुक्रबार २:८:५६