नेकपाको वैधानिकता र चिन्ह हामीहरुले नै पाउँछाैंः अध्यक्ष प्रचण्ड (भिडियाे)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाको वैधानिकता र चिन्ह आफूहरुले पाउने भन्दै त्यसको आधिकारिक घोषणा हुन मात्रै बाँकी रहेको बताउनुभएकाे छ । सोमबार नेकपा निकट पेसागत महासंघ र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्षले भन्नुभयाे, ‘कोही भ्रममा पर्नु पर्दैन । नेकपा र सूर्य चिन्ह हाम्रै हो, घोषणा हुन मात्र बाँकी छ ।’ निर्वाचन आयोगको सेटिङ भत्किँदै गएको भन्दै उहाँले आयोगले केही दिनमा नै बहुमतले गरेको निर्णयलाई आधिकारिकता दिने विश्वास व्यक्त गर्नुभयाे ।

अध्यक्षले भन्नुभयाे, ‘राजीनामा दिनु त कता हो कता ? उल्टै ओली आफैं पार्टी सदस्य पनि हुनुहुन्न कारवाही गर्दै हिँड्नुहुन्छ ।’ उहाँले छिट्टै नयाँ सरकार बन्ने भन्दै उक्त सरकारले लोकतान्त्रिक व्यवस्था अनुसारको सुशासन दिने कुरामा आफू ढुक्क रहेको बताउनुभयाे ।

सत्ता र कुर्सी प्राप्तिका लागि ओली जे पनि सम्झौता गर्दिने तर सत्ता प्राप्तिपछि सबै कुरा छोड्ने प्रवृतिको मान्छे भएको उहाँकाे भनाई थियाे । उहाँले अगाडि भन्नुभयाे, ‘सत्ता प्राप्तिका लागि पहिला एमाले विघटन र जबज त्याग्ने पनि केपी ओली नै हुन्, यसबाट उहाँमा इमान्दारीता र निष्ठा रहेन । उहाँले पार्टीका स्थायी समिति र केन्द्रीय कमिटीका निर्णयलाई पनि लत्याउनुभयो ।’

ओली पतनको बाटोमा लागेको भन्दै पतन भइ नसक्दासम्म केही नछोड्ने पात्रका रुपमा देखिएको उहाँकाे भनाई थियाे । ‘हेर्नुहोला अब केही दिनमा। हिजो सर्वोच्चमा सेटिङ छ भनेर भ्रम छरिएको थियो त्यो त अदालतले देखाइसक्यो। त्यही भएर साथीहरू फर्किनुस् मुल पार्टी हाम्रो नेतृत्व कै हो निन्द्रामा नपर्नुस्। पार्टीको मान्यता र सुर्य चिन्ह हामीले पाइसकेका छौं, अब घोषणा हुन मात्रै बाँकी छ,’ उहाँले भन्नुभयाे । अध्यक्षले सर्वोच्चको फैसलापछि केपी शर्मा ओली प्रधानमन्त्रीको कुर्सीमा एकछिन पनि बस्न लायक नभएको टिप्पणी गर्नुभयाे ।

अध्यक्ष प्रचण्डले भन्नुभयाे, ‘मैले त सर्वोच्च अदालतको निर्णय आउदा नै ओली जिलाई राजीनामा दिनुस् भनेर सुझाव दिएको थिएँ, ओली पुरै ध्वस्त नभएसम्म सुध्रिने देखिएनन् ।’ अब केही दिनमै दलहरुबीच एउटा समझदारी बनेर मुलुकले निकास पाउने भन्दै जनताको आशा भरोसालाई माथि उठाउनुपर्ने बताउनुभयाे ।

कात्तिक ६, २०८१ बुधबार २:२१:०